बस्तीलाई जोखिम पर्ने गरी जथाभावी चाँदी खोलामा उत्खनन

चन्द्रपुर (रौतहट), ६ फागुन । वातावरणीय असर पर्ने गरी जथाभावी रुपमा चाँदी खोलामा उत्खनन गरिरहदा सम्बन्धित नियमनकारी निकाय चुप रहदा स्थानीय बासिन्दाहरुले उत्खनन कार्यलाई रोक लगाएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थिा चाँदी खोलामा उत्खनन भईरहेको खोलाजन्य बस्तुहरु माथि रोक लगाउन नियमनकारी निकाय अग्रसर नहुँदा स्थानीय बासिन्दाहरु अघि बढेर उत्खनन कार्य माथि रोक लगाएको हो ।
चन्द्रपुर नगरपालिकाले खोलाजन्य बस्तु उत्खनन गर्नका निमित्त ठेक्का लगाएको निर्माण कम्पनीले खोलाको धार परिवर्तन हुने गरी धमाधम उत्खनन गरिरहेको कार्य स्थानीय बासिन्दाहरु सम्बन्धित निकायमा जानकारी गराउदा समेत कुनै यथोचित पहल नगरेपछि बाध्य भई स्थानीय बासिन्दाहरु आफै उपस्थित भएर उत्खनन कार्यलाई रोक लगाएका छन् ।
मरधर सिमसार क्षेत्रको निकास हुने स्थानमै ठेक्का निर्माण व्यवसायीले खोलानै थुनेर ग्रावेल, बालुवा सहितको खोलाजन्य बस्तु निकाल्न थालेपछि सिंगो गाउँ नै खतरामा परेको भन्दै स्थानीयले रोक लगाएको उनीहरुले गुनासो गरे ।
चन्द्रपुर नगरपालिकाले सो स्थानबाट नदिजन्य बस्तु उत्खननका लागि ठेक्का लगाएकोमा उत्खनन गर्न जिम्मा लिएका निर्माण पक्षधरले मनोमानी तरिकाले पानीको वहावलाई थुनेर खोलाबाट ग्रावेल, बालुवा निकाल्न थालेपछि मरधर सिमसार क्षेत्र वरिपरीका बासिन्दाहरु आक्रोसित भएका छन् ।
दुई दिन अघि स्थानीय बासिन्दाहरुले खोलाबाट ग्रेवल निकाल्नका लागि रोक लगाएपछि ठेकेदारले खोला थुन्नका लागि ल्याएको दुई थान ह्युमपाईप समेत स्थानीयले कब्जा गरेको बताइएको छ । स्थानीय बासिन्दाले नगरपालिकाले मापदण्ड विपरित तोकेको स्थान भन्दा बाहिर गएर उत्खनन गराउदै आएकोमा स्थानीयहरु विरोध जनाउदै आएको बताइएको छ ।
चादी खोला उत्खननका लागि ठेक्का पाएको ठेकेदारले खोलामा गहिरो खाल्डो बनाएर छाड्ने गरेका कारण हरेक वर्ष आफ्ना बालबालिका खाल्डामा पर्ने जोखिम रहेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार वातावरणीय असर पर्ने गरी कुनैपनि उत्खनन हुने खालको काम गर्न नहुने भएपनि नगरपालिका मापदण्ड विपरित कार्य गराइरहदा जनताहरु विरोधमा उत्रनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको उनीहरुको आरोप छ ।