रौतहट, ९ पुस । नेपाल सरकारको निति अनुसार कोही पनि बालबालिकाहरु विद्यालय बाहिर नरहुन सवैलाई सहज एवं सर्वसुलभ ढंगबाट माध्यमिक सम्म निशुल्क शिक्षाको निति लिएर अघि बढिरहेको अवस्थामा रौतहट सदरमुकाम गौरमा रहेका सामुदायिक विद्यालयले शुल्क लिएर कक्षा संचालन गरिरहदा छात्रहरुद्धारा प्रधानाध्यापक र विद्यालय प्रशासन कक्षमा ताला लगाएका छन् ।
गरिव तथा धनी विच कुनै भेदभाव नगरीकन नेपाल सरकारले शिक्षामा सबैको पहुच समान हुनुपर्ने उदेश्यका साथ सामुदायीक विद्यालयमा माध्यमिक सम्मको शिक्षालाई निशुल्क गरेको भएपनि रौतहटको गौर स्थित जुद्ध माध्यमिक विद्यालयले चर्को शुल्क लिइरहेको र पटक पटक चेतावनी विद्यार्थी संगठनहरुले दिइरहदा पनि लिन नछाडेपछि आज बाध्य भई प्रअ र विद्यालय प्रशासन कक्षमा ताला लगाएका हुन् ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमीक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गरिएको छ ।
दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अगे्रंजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकले गुनासो गरेका छन् । एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालय भित्र पनि धनि र गरिबको वर्गिकरण भएको अभिभावकहरुको आरोप छ ।
एउटै भवन भित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउदै मासिक शुल्क सहितको विद्यालय संचालन हुदा समेत सम्बन्धीत निकायले वेवास्ता गरेको स्थानियको आरोप विद्यार्थी नेता रबी मिश्रले लगाएको छ । विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा नामांकनको तिन सय, मासिक शुल्क सात सय, परिचय पत्र कार्डको १ सय २० र परीक्षा शुल्क एक सय रुपैंयाका दरले रकम उठाएको छ ।
कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७ सय २० रुपैंया लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ । समुदयमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थाले पछि विभिन्न विद्यार्थी सँगठनहरुले सो कार्यको विरोध गरेका छन ।
अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने “यसरी नियम विपरीत शुल्क उठाउदा समेत सम्बन्धीत निकाय मौन भएर बस्नुबाट अभिभावक ठगिदै गएको छ । सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको छ ।” विद्यार्थी सँगठनहरुले एक महिना अघि नै यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।
विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफुहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भए पछि विद्यालयले आफ्नै श्रोतमा अगे्रंजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप तिन सय देखी सात सय सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए ।