नेपालको टि–ट्वान्टी क्रिकेटको विश्वकप प्रतियोगिता खेल्ने सपना माथि तुषारापात

   १० फाल्गुन २०७८, मंगलवार २१:५२  

रौतहट, १० फागुन । नेपालको टी–ट्वान्टी क्रिकेटको विश्वकप प्रतियोगिता खेल्ने सपना माथि तुषारापात भएको छ ।
ओमानको मस्कट स्थित क्रिकेट एकेडेमीको ग्राउन्ड १ मा भएको खेलमा संयुक्त अरब इमिरेटस (युएई) ले नेपालको –ट्वान्टी क्रिकेटको विश्वकप प्रतियोगिता खेल्ने सपना माथि तुषारापात गरिदिएको हो ।
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई) सित पराजित भएसँगै नेपाल विश्वकप खेल्ने यात्राबाट बाहिरिएका छन् । नेपाल युएईसँग ६८ रनले पराजित भएका हुन् ।
टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । एक सय ७६ रनको विजय लक्ष्य लिएर मैदानमा ओर्लिएका नेपाली टोलीले अपेक्षा अनुरुप निकै फितलो प्रदर्शन गर्दै १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए ।
युएईका लागि मुहमद वासिमले ७० रनको अर्ध शतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने । यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए । बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए ।
नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानसँग खेल्नेछ । जारी प्रतियोगिताबाट युएई र आयरलैण्ड अस्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । आयरलैण्डले आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै