यीतेन्द्र शर्मा
कोभिड १९ को संक्रमणबाट अस्तव्यस्त हुन पुगेको नेपालको अर्थव्यवस्थालाई पुरानो अवस्थामा नै फर्काउन धेरै चुनौतिको सामाना गरिराख्नु परेको छ । अनेकौंै संरचनात्मक कार्यलाई निरन्तरता दिने नयाँ नीति निर्माणहरुको क्षेत्रमा पनि धेरैथोक गर्नुपर्ने चुनौति रहेको छ । औद्योगिकीकरणको दिशामा पनि खासै प्रगति हुन सकिरहेको छैन । नेपालका विकास एवम् व्यापार साझेदार उत्तरी छिमेकी चीनको आसहायोग, उपेक्षापूर्ण व्यवहार एवम् नेपालप्रतिको दुराशययुक्त मानसिकताका कारण हाम्रो उद्योग एवम् व्यापार क्षेत्रलाई ठूलो क्षति भइरहेको छ । चीनद्वारा नेपाललाई प्राप्त हुने भनिएको भन्सार तथा व्यापार सुविधा घोषणामा मात्रै सिमित छ । जव नेपाली उत्पादनको चीनमा निर्यात नै हुने छैन भने नेपाली उत्पादनलाई भन्सार तथा कोटा सुविधाको के फाइदा ? चीनद्वारा नेपाललाई प्रदान गरिएको ड्युटिफ्री कोटाफ्रि एसेस (भन्सार तथा कोटा सुविधा) अर्थहीन हुन गएको छ । नेपाली उत्पादनलाई चीनको बजारमा प्रवेश हुने अवसर नै प्राप्त भएन भने नत भन्सार सुविधाको कुनै अर्थ हुन्छ नत कोटा सुविविधाको नै । चीनसितको व्यापारघाटा आकाशिदो छ, एकोहोरोरुपमा चीनबाट आयात त भइरहेको छ तर नेपालले निर्यात गर्न पाएको छैन ।
चीनसितको द्वीपक्षीय व्यापारमा नेपालले भोगिरहेको ठूलो आयतनको व्यापार घाटाको मुख्य कारण उत्तरी छिमेकीको चीनप्रतिको भेदभावपूर्ण नीति नै हो । सन् २०१७÷०१८ मा नेपाली उत्पादनको निर्यात चीनतर्फ २३ मिलियन अमेरिकी डलरको मात्रै भयो जवकी चीनबाट १.५ विलियन अमेरिकी डलरको आयात भएको छ । यद्यपि चीनले सन् २००९ देखि नै नेपाली उत्पादन माथि ०% करको सुविधा दिएको छ तर पनि नेपालले यति ठूलो व्यापार घाटा सहनुको मुख्य कारण के होला ?अवश्य पनि चीनले नेपाली उत्पादनको निम्ति सकारात्मक वातावरणको निर्माण गरेको छैन । वि.सं. २०७२ सालमा आएको भू–कम्पको बहानामा अहिलेसम्म चीनियाँ भन्सारको सुविधा नेपाली व्यापारीहरुलाई राम्ररी हुन सकिरहेको छैन । कोभिड–१९ को कारणले झन नीम तथा करेलालाई एकैठाउँमा मिसाइदिने काम भएको छ । चीनले नेपाललाई खाद्यान्न, मासुजन्य पदार्थ तथा केही वनस्पतीजन्य उत्पादनलाई हाल चीनिया बजारमा प्रवेशको सुविधा तर त्यसमाथि भन्सार सुविधा छैन । चीनद्वारा नेपाललाई प्राप्त डि.एफ.क्यू.एफ. सुविधाका उत्पादनलाई चीनमा निर्यातको निम्ति अनुमति नै प्राप्त भइरहेको छैन । चीनले ८ डिजिट हार्मोनाइज्ड सिस्टम (एस.एस.) कोडका केही उत्पानको लागि मात्रै भन्सार सुविधा दिने अनुमति दिएको छ जवकि नेपाल भने ६ डिजिट एच.एस. कोडाका पस्मिना उत्पादनहरु, ऊनी कार्पेट र हस्तकलाका सामाग्री पनि निर्यात गर्न चाहन्छ । उपरोक्त नेपाली उत्पादनलाई यस डि.एफ.क्यू.एफ. कोडकोसुविधा दिइएको छैन । चीनियाँ सरकारले नेपाली उत्पादनलाई सुविधा दिने घोषणा पटक–पटक दोहो¥याउँदै आएको भए पनि व्यवहारमा त्यस्तो पाइएको छैन । विगत केही वर्ष यतादेखि नेपाली उत्पादनलाई चीनियाँ बजारमा प्रवेश पाउन अनेकौं समस्या एवम् वाधाहरु झेल्नु परिरहेको छ । भू.पू. प्रधानमन्त्री के.पी.शर्मा ओलीको चीन भ्रमणका बेला पनि नेपालले चीनसित ५१२ वटा नेपाली उत्पादनलाई सहज भन्सार सुविधा उपलब्ध गराउन डि.एफ.क्यू.एफ. को सूचीमा राख्न आग्रह गरेको थियो तर चीनले अहिलेसम्म त्यसमाथि विचार गरेको छैन । दक्षिणी छिमेकी भारत पछि नेपालको दोस्रो व्यापारिक साझेदार चीन नै हो । विश्व व्यापार संगठनमा चीनले प्रतिवद्धता जनाए अनुसार अल्पविकसित देशका उत्पादनहरुलाई ९८ प्रतिशतसम्म भन्सार सुविधा प्रदान गरिने सूचीमा नेपालको पनि नाम छ । तर चीनद्वारा कृषि उत्पानका वस्तुहरुको नाम समावेश गरिएको छैन । नेपाललाई चीनद्वारा प्राप्त भन्सार तथा कोटा फ्रि सुविधा प्रदान गरिएका २४७ वटा उत्पानहरुको भन्सार सुविधा पनि नेपालले प्राप्त गर्न सकिरहेको छैन । नेपालले थप ५१२ वटा उत्पादनलाई यस सूचीमा समावेश गर्न आग्रह गरे पनि यसमा चीन वास्ता गरेको छैन । नाममात्रको भन्सार सुविधा तथा छुटको के अर्थ ?