विराटनगर, १३ फगुन । बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा शुक्रवार देखि औपचारिक रुपमा संचालनमा ल्याइएको छ ।
पुरानो नोटलाई धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ शुक्रवार देखि बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा संचालनमा ल्याइएको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्विच अन’ गरेर यसको शुभारम्भ गरेको छ । चलनचल्तीमा रहेका पुरानो नोटहरुलाई अनयुपयुक्त एवं अयोग्य ठानेर जलाएर नष्ट गरिँदै आइरहेकोमा बीएसबीएस मेसिनको प्रयोग मार्पmत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली प्रयोगमा ल्याएका छन् ।
उक्त अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यबाट बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि हुने बताए । बीएसबीएस प्रविधि मार्पmत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए ।
यसका साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र त्यस सम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी उनले दिए ।
कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे प्रकाश पारे ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम आयोजना गरिएका थिए । बीएसबीएस मेसिनले कटन, पोलिमर लगायत सबै किसिमका बैंकको नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्नेछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।
उक्त मेसिनमा एकपटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघन्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६. ६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघन्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।
बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घन्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योग सँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास गरिएको छ ।
काठमाडौंको थापाथली स्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । यी मेसिनहरु नेदरल्यान्डबाट आयात गरिएको हो ।