गौर राइस एण्ड फ्लोर्स मिल्स प्रकरण
राजनीतिक दलहरुको आधिकारिक धारणा सार्वजनिक नहुँदा शंकाको घेरामा

रौतहट, १३ फागुन । चासोको बिषय बनेको गौर राइस एण्ड फ्लोर्स मिल्सको जग्गा माथि भू–माफियाहरुको गिद्धे आँखा गाडिएको समयमा सत्तारुद्ध राजनीतिक दलहरुको आधिकारी धारणाहरु बाहिर नआउदा कतै राजनितिक संरक्षणमै राइस मिल्सको जग्गा विक्री हुन लागेको त होइन ? भने सर्वसाधारणहरुले प्रश्न चिन्ह खडा गरेको छ ।
गौर नगरपालिका वडा नम्वर ३ स्थित रहेको ५ विगहा १९ कत्ठा १५ धुर जग्गामा तत्कालिन समयमा भारतीय बजाज समुहको ४९ प्रतिशत र नेपालीहरुको ५१ प्रतिशत गरी २००३ सालमा संचालनमा आएको उक्त मिल्स २०२५ सालमा गएर विभिन्न कारणबस बन्द भएपछि स्थानीय बासिन्दाहरुले खेल मैदानको रुपमा प्रयोग गर्दै आएको भएपछि मुलुकमा लोकतन्त्र स्थापना भएपछि राजनीतिक, धार्मिक सभाको रुपमा प्रयोग हुँदै आएको हो ।
यही राइस मिल्समा नेकपा माओवादी र फोरम कार्यकर्ताहरु आमना सामना हुँदा गौर हत्याकाण्ड यसै राइस मिल्समा भएको हुँदा यत्रो बहुचर्चित राइस मिल्सको जग्गा विक्री गर्नमा राजनीतिक दलहरुको आधिकारिक धारणा सार्वजनिक नभई मौन बस्नुबाट रौतहटबासीहरु राजनितिक दलहरुको भु–माफिया संग साँठगाँठ रहेको आशंका खडा गर्न थालेका छन् ।
वडा नम्वर १ को सचिव विनोद पासवान एक्लैले यस्तो गैरकानुनी कार्यमा संलग्न हुन नसक्ने आशंका व्यक्त गर्दै स्थानीय युवा रबी मिश्राले पासवानको आडमा ठूलै व्यक्तिहरुको हात हुन सक्ने भएको हुँदा उक्त कुराको पोल खुल्ने भएपछि पासवानलाई सिमापारी भगाएको हुन सक्ने आशंका व्यक्त गरे ।

३ नम्वर वडा कार्यालयबाट २०७५÷०७६ र २०७६÷०७७ को मालपोत रसिद कसरी काटियो उनले प्रश्न गर्दै सबै कार्य फर्जि हुनै सक्दैनन् जव सम्म निर्वाचित जनप्रतिनिधिहरुको संलग्नता नहुँदा रसिद काटिनु कुरै आउदैनन ।
अर्को स्थानीय बासिन्दा अमित ठाकुरको अनुसार फर्जि कागजात बनाई किर्ते छाप लगाउने वडा सचिव विनोद पासवानको रहेको प्रमाणित भएपनि जिल्ला प्रहरी कार्यालय गौरमा किर्ते तथा जालसाजी मुद्दा अन्तर्गत उजुरी गर्दा पासवानको नाम किन उल्लेख गरिएन ? उनले प्रश्न गरे । राइस मिल्सको स्वघोषित सचिव भन्ने बारा निजगढको बैकुण्ठ पौडेलको नाममा मात्रै जाहेरी किन दिइयो यो सोचनिय बिषय रहेको उनले गम्भीर कुरा उठाए ।
मिश्रा र ठाकुर जस्तै गौर नपाको अधिकाँस बासिन्दाहरु भू–माफियालाई सघाउने सबै व्यक्तिहरुको पहिचान गरेर कानुनी कटघेरामा उभ्याउनुपर्ने सम्बन्धित निकाय संग जोडदार माग गर्दै विभिन्न क्षेत्रका व्यत्तित्वद्धारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।
यसै सन्दर्भमा गौर नपा ३ का वडाध्यक्ष श्यामसुन्दर पटेलले नक्कली कागजात बनाएर सबै कार्य फर्जी काम गरेको हुँदा पहिचान भएको व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको बताए । गौर राइस मिल्सको जग्गा विक्री गर्न वडा कार्यालयबाट कुनै कार्य नभएको सबै कार्य फर्जी भएको हुँदा आवश्यक जाँच गरेर दोषि जो कोहीलाई कारवाही गर्न स्थानीय, प्रदेश र संघिय सरकार संग माग गरे ।
