चिनियाँ नागरिकको जालसाजी धन्दा

372 Shares

यीतेन्द्र शर्मा
नेपाली भूमिको प्रयोग छिमेकी राष्ट्रको विरुद्धमा गर्न नदिइने नेपाल सरकारको घोषित नीति विपरित चिनियाँ नागरिकको अवैध धन्दाबाट भारतीय नागरिक ठगिने गरेका छन् । नेपाली भूमि प्रयोग गरी भारतमा त्यहाँका नगरिकलाई गैर कानूनी ढंगले ऋण प्रवाह गर्ने धन्धामा चिनियाँ नागरिक समेत संलग्न रहनुलाई दूर्भाग्यपूर्ण मान्नुपर्दछ । पर्यटकको रुपमा नेपाल आएका नागरिकको यो धन्दा स्वीकार्य हुन सक्दैन । दुई चिनियाँ नगरिक रङ्गेहात पाक्राउ भएबाट तिनको क्रियाकलापको खुलासा भएको छ । तीन महिना अघि पर्यटन भिसामा नेपाल आएका याङ्ग हु बाओ र वाङ जिनाओ ऋण प्रवाहका लागि इजी क्रेडिट, फ्रिक्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार, हाई क्यास लगायत मोवाइल एप्स नै विकास गरेका थिए । सोही एप्सबाट उनीहरुले भारतीय नागरिकलाई चर्को व्याजमा ऋण प्रवाह गर्दै आएका थिए । रकम दिन नमाने धम्की दिने गर्दथे । यस धन्धामा उनीहरुले केही नेपाली नागरिकको समेत प्रयोग गर्दै आएका थिए । गैरकानुनी ढंगले भारतमा ऋण प्रवाह गर्ने उपरोक्त चिनियाँ नागरिकले काठमाण्डौ र भक्तपुरमा कार्यालय नै खोली एकसय भन्दा बढी नेपाली युवायुवतीलाई पनि विगत डेढ महिनादेखि यस धन्धामा सहभागि गराएका थिए । नेपालीहरुकै नाममा संस्था दर्ता गराई अवैध कारोवार सञ्चालन गरेका चिनियाँ नागरिक प्रहरी हिरासतमा आएपछि अब तिनको सत्यतथ्य पनि सार्वजनिक हुनेछ ।
उपरोक्त चिनियाँ नागरिकले एप्स मार्फत भारतीय नागरिकलाई सम्पर्कमा ल्याउँथे । ऋण दिने भन्दै भारतीय नागरिकलाई अनलाईन मार्फन नै फाराम भर्न लगाउँथे । फारम भर्दा फोटो, रासन कार्ड, सम्पर्क नम्बर लगायतका कागजात अनिवार्य रुपमा लिन्थे । सोही कागजातका आधारमा उनीहरुले एप्स मार्फत भारु तीनहजार देखि ३० हजारसम्म ऋण उपलब्ध गराउँथे । त्यसवापतको ऋण र व्याज दिँदाका बखत नै असुलीहाल्थे । ऋण चुक्ताको अवधिपनि सात दिन भन्दा बढी हुँदैनथ्यो । सात दिनभित्र ऋण नतिरे फोटो र रासन कार्ड सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्दै धम्की दिने गर्दथे । ऋण चुक्ता नगर्ने ऋणीलाई धम्क्याउनकै लागि उनीहरुले नपाली युवायुवतीलाई प्रयोग गर्ने गरेको हुन सक्ने सम्भावना छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ऋण प्रवाह गर्न र व्याज असुल्न तोकिएको बैंक र वित्तिय संस्थाबाहेक अन्यले गर्न पाउँदैन । चिनियाँ नागरिकको हकमा राष्ट्रबैंकबाट अनुमति नलिई ऋण प्रवाह र असुल गरेको पाइनु गम्भीर प्रकृतिको अपराध हो त्यो गैरकानूनी हो । चिनियाँ नागरिकले यस्तो घटना देशका अन्य ठूला एवम् महत्वपूर्ण शहरबाट पनि गराएको हुनसक्ने सम्भावना रहेको छ । नेपाली माटोको प्रयोग गरी भारतीय नागरिकलाई ठग्नु र त्यसमा सोझा नेपालीलाई समेत संलग्न गराई नेपाल–भारत सम्बन्धमा फाटो ल्याउने काम गर्नु र नेपाली युवायुवतीहरुको भविष्यलाई अन्धकारमा पार्ने काम गर्नु निन्दनीय तथा अक्षम्य अपराध हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार