काठमाडौं, १५ फागुन । अमेरिकी अति महत्वाकाक्षी परियोजना एमसीसी आजै सदनबाट पारित हुने भएको छ ।
एमसीसी सम्झौता सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणा सहित अनुमोदन गरेर सत्तारुढ गठबन्धनबीचको सहमतिलाई जोगाउने उपाय निकाल्नु भएको हो ।
आइतबार विहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको हो । अब आइतबार नै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गर्ने तयारी भएको बताए ।
त्यसअघि बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’ लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसो गर्नु परेको उनको तर्क थियो ।