जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भयो । भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव श्री राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव श्री डा. गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
२. नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्राको उपस्थितमा मिति २०७८ फाल्गुण १६ गते आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदानप्रदान भयो । सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।
३. हस्ताक्षर समारोहमा बोल्दै सचिव श्री राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गर्नुभयो । साथै वहाँले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गर्नुभयो ।
४. दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यो समझदारी पत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुंगाको रुपमा रहको छ भने यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्दछ ।