भारतमा प्रतिबन्ध रहेका आतंकबादी संगठनले धर्मान्त्रणमा नेपालीलाई सेल्टर बनाएको खुलाशा

352 Shares

१२ भदौ २०७० को अपराह्न पोखरामा ठूलो पानी पर्‍यो । उक्त दिन नेपाल प्रहरीको विशेष ब्युरोका चार जना अधिकृत एउटा गतिलो ‘मिसन’ पूरा गर्ने अन्तिम तयारीमा जुटेका थिए । दर्केकाे पानी रोकिएपछि ‘अन्डरकभर’मा रहेको त्याे टाेली एउटा मोटरसाइकलमा पोखराको आशंकित व्यक्तिको घरतिर लाग्यो ।
नभन्दै राति सवा १० बजेतिर स्थानीय प्रहरीले दुई जना व्यक्तिलाई उक्त घरबाट बाहिर निकाल्यो ।

सेतो सट लगाएका उनले झ्याप्प दाह्री पालेका थिए । लामा दाह्री छातीसम्म झरेको थियो । हुलिया हेर्नासाथै ब्युरोका प्रहरीले चिनिहाले, वर्कसप सञ्चालकको भेषमा बसेका उनी यासिन भट्कल हुन् ।

भट्कल भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीका व्यक्ति हुन् । मोहमद अहमद सिद्धिबापा खास नाम भए पनि आतंकवादी दुनियाँमा उनी यासिन भट्कल भनेर चिनिन्थे । उनी भारतमा आतंकवादी क्रियाकलापमा सक्रिय इन्डियन मुजाहिद्दीन (आईएम)का सह–संस्थापक रहेको भन्दै भट्कलबारे सूचना दिनेलाई भारतले आर्थिक इनामको घोषणासमेत गरेको थियो । भारतमा भएका शृङ्खलाबद्ध विस्फोटबाट २ सय जनाभन्दा बढीको ज्यान गएको घटनामा भट्कललाई योजनाकार मानिएको थियो ।

यासिन भट्कलले चलाएकाे वर्कसप ।

प्रतिआतंकवादविरुद्ध काम गर्ने प्रहरीको विशेष ब्युरो र भारतको इन्टेलिजेन्स ब्युरो (आईबी)को छ महिना लामो संयुक्त अपरेसनपछि भट्कल आतंकवादी जगत्‌का अर्का चर्चित नाम असादुल्लाह अख्तर ‘हड्डी’ सँगै पक्राउ परेका थिए । हड्डी अलकायदा नामक इस्लामिक आतंकवादी समूहमा आबद्ध व्यक्ति हुन् । उनी वाराणसी, पुने र मुम्बई हमलाका प्रमुख अभियुक्त हुन् । दुवैलाई पक्राउपछि प्रहरीले नेपाल–भारत सीमामा पुर्‍याएर बिहारको प्रहरीलाई बुझाएको थियो ।

हिंसात्मक गतिविधिमा सामेल दुई जना इस्लामिक कट्टरपन्थीलाई पर्यटकीय नगरी पोखराबाट पक्राउ गरेर गुपचुप भारत पुर्‍याएपछि नेपालमा गरेको ब्युरोको अनुसन्धानले भने झस्काउने खालको तथ्य उधिनिदियो ।

भट्कल र हड्डीले अपराधबाट जोगिन धर्म परिवर्तन गरेका नेपालीलाई प्रयोग गरेर नेपालमा बसेका हुन् । यसरी प्रयोग भएका पात्र हुन्, बलबहादुर थापा, गोरे शाही र यमनन्द न्यौपाने । ‘यी व्यक्तिलाई प्रयोग गरेर आईएमका सदस्य पोखरामा ढुक्कसाथ बसेका थिए,’ अपरेसनमा सहभागी ब्युरोका ती अधिकारी भन्छन् ।

खाडीमा धर्मान्तर

आफूलाई युनानी डाक्टर, आयुर्वेदिक चिकित्सक भनेर चिनाएका भट्कल पोखरा बडहरेमा बस्ने बलबहादुर थापालाई प्रयोग गरेर सुरक्षित बसेका थिए । पोखरामा एक वर्षभन्दा बढी समय सुरक्षित बसे । भट्कल र हड्डीले थापासहित गोरे शाही र यमनन्द न्यौपानेको सहयोग लिएका थिए ।

संयोग ब्युरो थापामार्फत नै भट्कल समूहको ‘सेल्टर’मा पुग्न सफल भएको थियो ।

थापा हिन्दु धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्ति हुन् । ब्युरोको अभिलेखअनुसार स्याङ्जा रामघाटका उनको खास नाम बलबहादुर विक हो । १७ वर्ष ८ महिना भारतीय सेनामा जागिर खाएका उनी पेन्सन पाकेसँगै सेवानिवृत्त भएका थिए । ०७१ मा ब्युरोका अधिकारीसँग कुरा गर्दा थापाले जागिरबाट निस्कँदा आफू ३४ वर्षको रहेको बताएका छन् ।

पाेखरामा भट्कलबाट बरामद हतियार ।

दार्जिलिङ र सिलगुढीमा केही समय सुरक्षा गार्डको काम गरेपछि उनी सन् २००४ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगे । महाराजगञ्जस्थित एसओआर म्यानपावरबाट दुबई पुगेका थापा त्यहाँ ट्रिपर चलाउने काम गर्थे । १८ महिना दुबई बस्दा नै मुस्लिम धर्म अँगालेको उनले ब्युरोलाई बताएका छन् । इस्लाम धर्म मानेमा रोग निको हुन्छ भनेर दुबईमा एक जना मुस्लिम मित्रले सुनाएपछि आफूले धर्म परिवर्तन गरेको उनले बताएका छन् । ‘मुस्लिम बनेपछि मेरो छारे रोग निको भयो,’ ब्युरोसँग उनले भनेका छन् ।

धर्मान्तरपछि स्याङ्जा फर्किएका उनलाई सुरुमा परिवारले मुस्लिम धर्म अँगालेकोमा अस्वीकार गरेको थियो । त्यसपछि उनी चितवनको टाँडीमा एक्लै बस्न थालेका थिए । ‘पछि श्रीमती र छोराछोरी सबैलाई मुस्लिम धर्मावलम्बी बनाएछन् र चिवतनमा परिवारसँगै बस्न थालेछन्,’ ब्युरोका एक अधिकारी भन्छन् । टाँडीमै छँदा उनले अनमोल जडीबुटी नामक आयुर्वेदिक औषधोपचारको काम थाले ।

०६९ देखि भने बलबहादुर पोखराको बडहरेमा घरजग्गा जोडेर बस्न थालेका हुन् । पोखरामा पनि उनले जडीबुटीमार्फत औषधोपचारको काम गर्छन् । धर्म परिवर्तन गरेर मुस्लिम बनेका अर्का व्यक्ति गोरे शाही र बलबहादुरबीच नजिकको सम्बन्ध रहेको ब्युरोका प्रहरी अधिकारी बताउँछन् ।

शाहीले पनि वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेको बेला धर्म परिवर्तन गरेका हुन् । ०५४ मा साउदी अरब गएका शाही तीन वर्षपछि नेपाल फर्कंदा अब्दुल रहमान भइसकेका थिए । त्यसपछि समेत साढे एक वर्ष साउदी बसेका रहमान ०५९ पछि भने विदेश गएको अभिलेख भेटिँदैन । ‘त्यसपछि निर्माण व्यवसाय गरेर बसेँ,’ भट्कल पक्राउको एक वर्षपछि ब्युरोका प्रहरीसँग उनले भनेका छन् ।

ब्युरोले यो परिवारका सदस्यले निर्माण कम्पनीबाहेक अब्दुल इलेक्ट्रोनिक र हसनी इलेक्ट्रोनिक्स पसल चलाउने गरेको तथ्य भेटेको छ । रहमानको नाममा ट्रक, कार, डोजर र ट्याक्टरजस्ता सवारीसाधन पनि छन् । म्याग्दीको बेनीमा १ रोपनी ४ आना, पर्वतको लामो खेतमा १ रोपनी र पोखराको बडहरेमा १ रोपनी ३ आना रहमानको नाममा जमिन देखिन्छ । यसबाहेक सगोलमा बडहरेमा १ रोपनी ९ आना छुट्टै जमिनसमेत भेटिएको रेकर्ड ब्युरोसँग छ ।

शाहीको घरमा भट्कल समेत बसेका थिए । आफू जडीबुटीबाट औषधिमुलो गर्ने डाक्टर भएको र मुस्ताङतिरबाट फर्किएको भन्दै भट्कल रहमानको घरमा आएको उनले ब्युरोलाई बताएका छन् । ‘बकर इदको बेला भएकाले केही दिन हामी सँगै बसेका थिए,’ रहमानले ब्युरोका प्रहरीसँग भनेका छन्, ‘झोलामा औषधि पनि थियो ।’

रहमान र बलबहादुरको भने लमजुङको भोटेओडारमा भेटेपछि चिनजान भएको थियो । औषधि बेच्दै हिँड्दाखेरि आफूले बलबहादुरलाई भेटेको रहमानले दाबी गरेका छन् । तर, ब्युरोका अधिकारी भने उनीहरूको चिनजान आईएमको सदस्यमार्फत भएको दाबी गर्छन् । ‘साउदीमा जसले उनीहरूलाई धर्मान्तर गरायो, उसैले चिनजान गराएको हो,’ भट्कल अपरेसनमा संलग्न ब्युरोका अधिकारी भन्छन् ।

पाेखरामा यासिन भट्कल ।

बलबहादुर र अब्दुल रहमानसँगै अर्का व्यक्ति पनि भट्कलसँग नजिक थिए । उनी हुन् स्याङजा कृष्णगण्डकीका यमनन्द न्यौपाने उर्फ अब्दुल करिम । वैदेशिक रोजगारीका लागि दुई वर्ष साउदी अरबमा बस्दा यमनन्द न्यौपाने मुस्लिम धर्मावलम्बी बनेसँगै अब्दुल करिम बनेका हुन् । पोखराको हेम्जामा प्लम्बरको काम गर्ने उनको समेत बलबहादुर र रहमानमार्फत भट्कलसँग भेटघाट भएको ब्युरोको गुप्तचरी रिपोर्टमा छ ।

गहिराइ पहिल्याइएन

एक धर्मबाट अर्को धर्म अँगाल्न पुगेकाहरूलाई आतंकवादी समूहले ‘प्रयोग’ गर्ने गरेको तथ्य उजागर भए पनि प्रहरी यस्तो किन भइरहेको छ भनेर थप अनुसन्धान गर्नबाट भने चुक्यो । लामो समय विशेष ब्युरोमा काम गरेर अवकाश पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बमबहादुर भण्डारी भट्कललाई नेपालमा लुकाउन धर्म परिर्वतन गरेका नेपालीहरूको हात रहेको खुले पनि यसमा थप अनुसन्धान गर्न नसकिएको स्वीकार्छन् । ‘उनीहरू प्रयोग भएका हुन् वा जानीबुझीकन लागेका हुन् भन्ने हामीले अध्ययन गरेनौँ,’ भन्छन् ।

दुई दशकभन्दा बढी कालखण्ड विशेष ब्युरोमा बिताएर हाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई आतंकवादी समूहले एकदमै गुपचुप हिसाबले काम गर्ने हुँदा सोही समूहमा पनि एकले गरेको काम अर्कोलाई थाहा नहुन सक्छ । ‘त्यसैले नेपाली मुस्लिम समुदायका व्यक्तिलाई उनीहरूले बस्नका लागि घरकोठा खोज्न ‘युज’ गरेका हुन्,’ उनी भन्छन्, ‘पहाडे मूलका भएकाले शंका नहोस् भनेर ती नेपालीलाई प्रयोग गरेका हुन् ।’

तर, भट्कलको सेल्टर खोज्न प्रयोग भएकाहरूको विगतले भने राईको भनाइलाई मात्रै सीमित गर्दैन । भट्कललाई सघाउने तीनैजना नेपाली विदेशी भूमिमा धर्म परिवर्तन गरेका पात्र हुन् । ‘लामो योजनाअनुसार उनीहरूलाई मुुस्लिम धर्मावलम्बी बनाइएको हुन सक्छ,’ पूर्वएआईजी भण्डारी भन्छन्, ‘यसबारे अनुसन्धान नभएकाले यकिन भन्न सकिँदैन ।’

तर, वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीलाई आतंकवादी समूहका एजेन्टहरूले राम्रो काम पाइने लोभमा धर्म परिवर्तन गराइदिने क्रम बढेको सूचना भने ब्युरोसम्म पुगेको लामो समय भयो । यद्यपि त्यसको रफ्तार र संख्या भने ब्युरोले बटुल्न सकेको छैन । ‘हामी हुँदै त्यस्ता सूचना आउँथे,’ पूर्वएआईजी भण्डारी अनुभव सुनाउँछन्, ‘तर हामीले यकिन तथ्यांक राख्न सकेका छैनौँ ।’

अमेरिकी विदेश मन्त्रालयले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी विश्व प्रतिवेदनमा नेपाललाई इन्डियन मुजाहिद्दीनको सेल्टरका रूपमा अर्थ्याउँदै आएको छ । ‘राष्ट्रिय सुरक्षा स्वार्थ जोगाउन पनि यसको सूचना र तथ्यांक हामीले राख्नुपर्छ,’  उनको भनाइ छ ।

टार्गेटमा धर्म परिवर्तन गरेकाहरू

आतंकवादी समूहले धर्म परिवर्तन गरेर मुस्लिम बनेकाहरूलाई प्रयोग गरेको दुई दशक पुरानो घटना पनि छ । पुस ०५६ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आईसी–८१४ विमान अपहरणमा पनि नेपाली थिए । उक्त विमान अपहरणको योजना बनाउन काठमाडौंमा आएका हर्कत–उल मुजाहिद्दीनका सदस्यलाई कोठा खोज्न भूपालमान दमाईंलाई प्रयोग गरेको विशेष ब्युरोको दाबी छ । भूपालमान ११ वर्षको छँदै परिवारले मुस्लिम धर्म अँगालेको थियो । त्यसपछि उनी युसुफ नेपाली बनेका थिए ।

अफगानिस्तानमा अवतरित नेपालबाट अपहरित विमान ।

भूपालमानलाई भारतीय प्रहरीले विमान अपहरणको अभियोगमा गिरफ्तार गरेर सजाय दिएको थियो । तर, साढे १४ वर्ष जेल बसेपछि उनलाई भारतको हरियाणा उच्च अदालतले निर्दोष रहेको फैसला गरेको थियो ।

पूर्वएआईजी भण्डारीका अनुसार धर्म परिवर्तन गरेर मुस्लिम बनेकाहरूलाई आतंककारी समूहले दुई किसिमले प्रयोग गरेको हुन सक्छ । पहिलो, एउटा धर्मबाट भर्खर अर्को धर्ममा गएकाहरूको माइन्डसेटबाट सजिलै काम लिन सकिन्छ भन्ने । यस्तोमा थाहै नदिई उनीहरू प्रयोग हुन सक्छन् ।

दोस्रो, धर्मप्रति आस्थावान् देखाउन जानीबुझीकनै त्यस्तो कार्यमा लाग्न सक्छन् । ‘अर्को समुदायसँग बढी घुलमिल भएको व्यक्तिलाई प्रयोग गर्न सकेमा कम शंका हुन्छ । त्यसैले आफ्नो योजनाअनुसार उनीहरूलाई परिचालन गर्न सजिलो हुन सक्छ,’ भण्डारी भन्छन्, ‘त्यसैले आतंकवादी समूहले धर्म परिर्वतन गरेकाहरूलाई योजना लागू गराउने पात्रको रूपमा टार्गेट गरिरहेका छन् । सिलापत्रबाट लिएको ।

सम्बन्धित समाचार