फर्जी कागजात तयार पार्ने वडा सचिव पासवान अझै प्रहरी नियन्त्रण बाहिर

503 Shares

रौतहट, १८ फागुन । करिव ५३ बर्ष अघि बन्द भइसकेको गौर राइस एण्ड फ्लोर मिल्र्सको बहुमूल्य जग्गा गैरकानुनी तवरबाट विक्री गर्न सघाउ पुर्याएका वडा सचिवलाई स्थानीय प्रहरी प्रशासनले समात्न असफल रहेको गुनासो स्थानीय बासिन्दाहरुले गरेको छ ।
भारतीय र नेपाली गरेर २००३ सालमा स्थापना भएको गौर राइस एण्ड फ्लोर मिल्स २२ बर्षको कलिलो समयमा गएर २०२५ सालमा गएर विभिन्न कारणबस बन्द भए । मिल्स बन्द भएपछि संचालन गर्न कसैलेपनि चासो लिएन जसको कारण बर्षौ बर्ष सम्म राइस मिल्सको बहुमूल्य जग्गामा स्थानीय युवाहरु खेलकुद, राजनितिक दलहरु सभा सम्मेलन, धार्मिक क्षेत्रका व्यक्तिहरु धार्मिक सभा सम्मेलनको रुपमा प्रयोग गर्दै आए ।
करिव २०६५ सालमा गौर राइस एण्ड फ्लोर मिल्सको स्वघोषित सचिव बारा निजगढको बैकुण्ठ पौडेलले जग्गा विक्री गर्न विभिन्न जालझेल एवं प्रपंचहरु सुरु गरेको पछिल्लो तथ्याँक एवं गतिविधिले दर्शाएको छ । २०६६ सालमा पौडेलले कम्पनी रजिष्ट्रारको कार्यालयमा मिल्सलाई कम्पनीमा लगेको देखिन्छ । त्यस वेला देखि नै विक्री गराउने चलखेल तिव्र बनेको छ ।

गौर राइस एण्ड फ्लोर मिल्स प्रकरण


तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष पटक पटक राइस मिल्सलाई सार्वजनिकीकरण गर्न डेलिगेशन गएपछि २०६६ सालमै मन्त्रीपरिषदको बैठकबाट गौर राइस मिल्सको जग्गालाई खेलमैदानको रुपमा प्रयोग गर्ने निर्णय गरे । तर प्रक्रिया नपुर्याएर गरिएको उक्त निर्णय विरुद्ध हक दावी गर्ने व्यक्तिहरु सर्वोच्चमा पुग्दा सरकारको निर्णयलाई सर्वोच्च अदालतबाट बदर गरियो ।
भु माफियाहरुलाई सघाउन गौर नपा वडा नम्वर १ को सचिव विनोद पासवानले राइस मिल्सको नक्कली कागजात बनाउनुको साथै गैरकानुनी तवरबाट सरकारी छाप लगाएको प्रमाणहरु रौतहट क्रिकेट संघले पत्रकारहरुलाई चुप लागिदिन गरिएको पत्रकार सम्मेलनमा देखाइएको कागजातहरु सबै नक्कली भएको गत साता बाहिरिए पछि स्थानीय बासिन्दाहरु वडा सचिव पासवान र रौतहट क्रिकेट संघ प्रति आक्रोशित बनेका छन् ।
उक्त कार्यमा रौतहट क्रिकेट संघको जिम्मेवार पदाधिकारीहरु सहित नपाको केही निर्वाचित जनप्रतिनिधिहरुको साँठगाँठ रहेको हुँदा पासवानलाई सिमापारी भारतीय बजार बैरगनिया पठाई पर्दा पछाडीको व्यक्तिहरुको चर्तिकला सार्वजनिक भएन ।
तर नक्कली कागजात तयार पारेर सरकारी छाप लगाई अधिकारको दुरुपयोग गरेको थाहा भएपनि गौर नपा ३ को वडाध्यक्ष श्यामसुन्दर पटेलले वडा सचिवको नाममा किटानी जाहेरी नदिई गौर राइस मिल्स कम्पनीको सचिव बैकुण्ड पौडेलको नाममा दिनुबाट नगरपालिकाको पदाधिकारीहरुको साँठगाँठ रहेको आशंकालाई थप बल दिएको गौर नपा वडा नम्वर १ को एमालेको युवा अमित ठाकुरले गम्भीर रुपमा प्रश्न चिन्ह खडा गरेका छ ।
वडा सचिव पासवान आफूबाट वडा नम्वर ३ को सदस्य लाल महम्मदले गराउन लगाएको भिडियो रेकर्ड सार्वजनिक गरेको सात दिन भन्दा बढि समय वितिसक्दा पनि प्रहरीले वडा सचिव पासवान र लाल महम्मदलाई समातेको छैन ठाकुरले भने । समाचारकै भरमा अनुसन्धानको घेरा भित्र पर्ने प्रचलन भएपनि वडा सचिव पासवान स्वयं स्वीकार गरेपनि प्रहरी प्रशासन मुकदर्शक बनेको कारण रौतहट जिल्लामा अराजकताले जडो गाड्दै गएको गम्भीर आरोप उनले लगाए ।
जस्तो सुकै अपराधीलाई नेपाल प्रहरी भारतको विभिन्न स्थानबाट पक्राउ गरेर ल्याउने गरेको तर सिमापारी बैरगनियामा बसिरहेका वडा सचिव पासवानलाई किन नसमातेको होला ? युवा ठाकुरले स्थानीय प्रहरी प्रशासन माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटको एसपी विनोद घिमिरेले किर्ते तथा जालसाजी सम्बन्धी उजुरी आएको छ तर वडा सचिव पासवानको नाममा उजुरी नआउदा हामी कुन आधारमा नियन्त्रणमा लिने आफनो विवशता सुनाए । राइस मिल्सको जग्गालाई जोगाउन हामी चनाखौं छौं तर त्यसमा संलग्न रहेका दोषि व्यक्तिहरुको नामै राखेर उजुरी आएको भए हामी विभिन्न कुनाबाट ल्याएर कानुनी डायरामा ल्याउने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार