सधै भरी चर्चामा रहेकी चिनियाँ राजदूत यान्छि ओझेलमा

   २० फाल्गुन २०७८, शुक्रबार २१:४३  

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी अचेल ओझेलमा परेकी छिन ।

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्नु अघिल्लो दिनसम्म पनि यान्छीको सक्रियता कम थिएन । तर, अहिले उनी एकाएक भूमिगत भएकी हुन् ।

नेपालमा एमसीसी अनुमोदन गर्ने नगर्ने भन्ने तीव्र बहस र छलफल चलिरहेका बेला यान्छीको सक्रियता निकै बढेको थियो । उनी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरूसँग नियमित सम्पर्कमा थिइन् ।

कतिसम्म भने त्यही बेला उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूको एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो कन्फ्रेन्ससमेत गराइन् ।

एमसीसीलाई असफल बनाउनकै लागि त्यो हथकण्डा प्रयोग गरिएको हो भन्ने सबैले बुझकै थिए । यान्छीले माओवादीका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका झलनाथ खनाल, एमाले नेता भीम रावलको पनि भरपूर उपयोग गरेकी थिइन् ।

एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भनेर कुप्रचार गर्न लगाइएको थियो । आर्थिक सहयोगलाई पनि संसदले अनुमोदन गर्न मिल्छ भन्दै नेपाली कम्युनिस्ट नेताको दिमाग तताउन थालेको चीन अहिले चुप छ ।

चिनियाँ विदेश मन्त्रालयले एमसीसी अनुमोदन भएपछि ‘नोटेड’ गरेको प्रतिक्रिया दिएको छ । यता, काठमाडौंमा रहेकी होउ यान्छी भने ‘भूमिगत’ छिन् । उनको सक्रियता कतै पनि देखिन्न ।

चीनले लामो समयदेखि नेपालमा अघोषित नाकाबन्दी लगाएको विषयमा सम्पूर्ण नेपालीलाई थाहै छन् । त्यसमा पनि हुम्लामा चीनले नेपाली भूमि मिचेको चर्चा चलेपछि त चिनियाँहरूको मुकुण्डो उत्रिएको छ ।

त्यही भएर अचेल चीनले नेपालका कम्युनिस्ट नेताहरूको भर गर्न नहुने निष्कर्षमा पुगेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै