नेपाली सेनालाई पटक पटक भारतीय सेनाको सहयोग

रौतहट, २४ फागुन । नेपाली सेनालाई विभिन्न समयमा भारतीय सेनाले निरन्तर रुपमा सहयोग गर्दै आएको छ ।
भारतीय सेनाले नेपाली सेनालाई विभिन्न सैन्य उपकरणको साथै सुरक्षा साजो सामग्रीहरुको सहयोग गर्दै आएको हो ।
गत फागुन १२ गते भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहार स्वरुप प्रदान गरे । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेको थियो ।
भारत सरकारको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई सो खोप उपहार स्वरुप प्रदान गरेको बताइएको छ । यसअघि पनि भारत सरकारले नेपाललाई खोप उपलब्ध गराएको थियो । कार्यक्रममा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे । सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ ।
भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ ।