कम्युनिस्टहरू उत्तेजनाको राजनिती गर्छ : गगन थापा

काठमाडौ । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् । उनले कम्युनिष्टले उत्तेजनाको राजनीति गरिरहेको बताए ।
एमसीसी सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताए । महामन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैं उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए ।
आसन्न निर्वाचनका लागि पार्टी संगठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उनले भने, ‘कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पुर्याउनुछ ।’ महामन्त्री थापाले उम्मेदवार टुंग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुंग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुंग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिए । आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनले बताए ।