व्यवसायी र महावाणिज्य दूताबास विच क्षलफल

वीरगञ्ज का उद्योगी व्यवसायीहरूले भारत र नेपालबीच हुने व्यापार र पारवहनमा देखिएको समस्या समाधान गरिदिन भारतीय महावाणिज्य दूतावास सँग आग्रह गरेका छन्। भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले आयोजना गरेको ‘भारत–नेपाल सीमा व्यापार’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले त्यस्तो आग्रह गरेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नेपाल–भारतबीच हुने व्यापार, पारवहनका साथै नेपाली आयात निर्यात कर्ता हरू ले भोग्दै आएको व्यवहारिक तथा नीतिगत कठिनाइलाई समेटेर कार्यपत्र प्रस्तुत गरे । उनले रक्सौल–वीरगञ्ज नाकालाई ह्यापी बोर्डरको रुपमा विकास गर्नुपर्ने बताए।
उनले वस्तु निर्यात गर्दा अनिवार्य गरिएको प्रयोगशाला परीक्षणको झञ्झटिलो प्रक्रियाबाट मुक्ति दिन आग्रह गरे ।
नेपालबाट कृषिजन्य वस्तु, तेल, डाबर, नेपाल लिभरको उत्पादन भारततर्फ निर्यात हुने गरेको छ । त्यस क्रममा निर्यातकर्ताले प्रयोगशाला परीक्षण गराएको रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।
‘रक्सौलको प्रयोगशाला बन्द छ । कुनै मालवस्तु निर्यात गर्नुपर्दा कलकत्ता पठाउनुपर्ने हुन्छ । नेपालमा पनि भारतमा भएको जस्तै पहिलो श्रेणीको प्रयोगशाला छन् । उसले गरेको परीक्षण रिपोर्टलाई भारतले मान्दैन’ उनले भने, ‘अनावश्यक झञ्झट भइरहेको छ। बिग्रने खालको समान त प्रयोगशालाको रिपोर्ट ल्याउने क्रममा नै बिग्रन्छ । कि रक्सौलको प्रयोगशालालाई कलकत्ताको जस्तै बनाउनुपर्छ, होइन भने दुवै देशले एक अर्को देशमा गरिएको परीक्षणको रिपोर्टलाई मान्यता दिनुपर्छ ।’
कार्यक्रममा वीरगञ्जका उद्योगी व्यवसायीहरूले सीमावर्ती सहर रक्सौलको विकासका लागि पनि आवाज उठाएका छन् । उनीहरूले रक्सौलबाट भारतका मुख्य मुख्य शहरहरूलाई जोड्ने सुपरफास्ट ट्रेन सञ्चालन हुनुपर्ने, आईसीपीमा पार्किङ एरिया प्रयोग गर्ने सवारीसाधनसँग मात्र पार्किङ शुल्क लिनुपर्ने धारणा राखेका छन् ।
त्यस्तै वजन गर्ने मेसिनको चार्ज, परीक्षण शुल्क र जिएसटी हटाउनुपर्ने, आईसीपीलाई बिहानै ५ बजेदेखि नै खोल्नुपर्ने, भारत र नेपालको पर्यटन प्रर्वद्धनको लागि टुरिष्ट हेल्प डेस्क र व्यापारिक मतभेद निवारण डेस्कको स्थापना हुनुपर्ने व्यवसायीहरूको माग छ ।
भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितिश कुमारले उद्योगी व्यवसायीको तर्फबाट आएको सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।