भारतको सहयोगमा मधेश प्रदेशको तीन जिल्लामा विपन्न वर्गलाई ग्यास चुल्हो सहित सिलिन्डर पाउने भएको छ

काठमाडौँ, २७ फागुन । मधेश प्रदेशको तीन जिल्लामा बसोबास गर्ने मध्ये विपन्न, सिमान्तकृत तथा पिछडिएका वर्गका लागि भारतले एपी ग्याँस चुल्होसहितका सामम्री सहयोग गर्ने भएको छ ।
भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत यो सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार भारत सरकारले मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्याँस चुल्हो, ग्याँस सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने छ ।
नेपाली रुपैयाँ २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा यी जिल्लामा तीन हजार वटा ग्याँस चुल्हो, ग्याँस सिलिण्डरलगायतका सामग्री समाजमार्फत् उपलब्ध गराइनेछ ।
यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।
दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर रहेका ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्याँस जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित रहेको बताइको छ ।