काठमाडौं आउँदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली, नेताहरूसँग भेटघाट गर्ने

रौतहट, १२ पुस । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी मुलुक चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल आईतवार काठमाडौं आउदै छ ।
स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त टोली काठमाडौं आउन लागेको बताइएको छ ।
काठमाडौं स्थित चिनियाँ राजदूतावासले चिनियाँ टोलीको भेटघाटका लागि नेकपाका शीर्ष नेताहरू सँग समय मिलाइसकेको स्रोतले जानकारी दियो । चिनियाँ टोलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने औपचारिक रूपमा जानकारी दिएको छैन्न ।
यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको प्रचण्ड नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् ।