सर्लाही, ९ चैत । झण्डै सात महिना अघि सुटर बोलाएर व्यवसायीको हत्या गराउने योजनाको जालो बुनेको आरोपमा वागमती नगरपालिकामा कार्यरत लेखा अधिकृतलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
भारतीय सुटर बोलाएर असोज २५ गते विहान सर्लाही जिल्ला हरिवनका व्यवसायी अर्जुन भनिने सिद्धिबहादुर रायमाझीलाई हत्या गराउने योजनाको जालो बुनेको आरोपमा वागमती नगरपालिकामा कार्यरत ५० बर्षिय लेखा अधिकृत विश्वराज पोखरेललाई म्गाग्दीबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
व्यवसायी रायमाझीलाई हत्या गराउने योजनाको जालो बुनेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा अधिकृत पोखरेले गत पुस महिना देखि फरार रहदै आएका थिए ।
हरिवन ९ घर भएका पोखरेललाई गत आइतबार म्याग्दीको रघुगंगा–१ तिप्ल्याङबाट पक्राउ गरी ल्याएको छ । जिल्ला अदालत मलंगवाबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए । व्यवसायी रायमाझीले दिएको जाहेरीमा भारतीय सुटरसँगको कुराकानी, गोली हान्न उनको घर आसपास सुटरहरूको रेकीको दृश्य र लेखा अधिकृत पोखरेलले गोप्य योजना बनाउने क्रममा मोबाइलमा रेकर्ड भएका विभिन्न कुराकानीहरु समेत जिल्ला प्रहरीमा बुझाएका छन् । पोखरेल विरुद्ध गत पुस २२ मा पक्राउ पुर्जी जारी गरिएको थियो ।
विभिन्न कम्पनीको मोबाइल सेट र सिम फेर्दै हिँड्ने गरेकाले पक्राउ गर्न समस्या भएपनि पक्राउ गर्न हामी सफल भएका छौं एसपी प्रसाईले भने । रायमाझीका अनुसार आफूमाथि गोली प्रहार गर्नका लागि गत असोज २४ मा भारतीय सुटरहरू हरिवन आएका थिए । स्थानीय एक होटलमा बसेका थिए । ती सुटरले भोलिपल्ट बिहान मौका पारेर गोली प्रहार गर्ने सुइँको पाएपछि सतर्क भएको उनले बताए । उनले भने ‘सबै प्रमाणसहित जाहेरी दिएको बताए ।