फुलजोर पुलबाट बस खस्यो, ४ यात्रुको मृत्यु ३२ जना घाइते

   १३ चैत्र २०७८, आईतवार १४:४४  

सर्लाही, १३ चैत । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको फुलजोर स्थित खोलाको पुलबाट यात्रुबाहक बस तल खस्दा ४ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ३२ जना यात्रुहरु घाईते भएका छन् ।
वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका ना.४ ख. ८५५५ नम्वरको यात्रुबाहक बस आईतवार विहान ११.१५ बजेको समयमा सर्लाहीको फलजोर पुलबाट तल खस्दा घटनास्थलमा ४ जना यात्रुको दुखद निधन भएका हुन् ।
फुलजोर पुलमा बस क्रशिंग भईरहेको अवस्थामा अनियन्त्रित भएर पुल तल खस्दा दुखद घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी माधव बुढाथोकीले मृतक चारै जनाको पहिचान खुल्न नसकेको बताए ।
चारै जनाको शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको हुँदा शबको पहिचान एवं सनाखतको लागि मलंगवा अस्पतालमा शव राखिएको बताए । यता घाईतेहरु मध्ये ५ जनाको अवस्था चिन्ताजनक रहदा सामान्य उपचार पछि विरगंज र जनकपुर तर्फ पठाइएको डिएसपी बुढाथोकीले भने ।
घटना भएको तत्कालै स्थानीय बासिन्दाहरु तथा अन्य सवारी साधनको यात्रुहरु सहित सुरक्षाकर्मीहरु घाईतेहरुलाई उद्धार गरी उपचारको लागि लालबन्दी, बयलवास, मलंगवा, हरिवन पठाएर उपचार भर्यरहेको जानकारी दिदै बस दुर्घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए । चालक पनि घाईते रहदा प्रहरी निगरानीमा उपचार भईरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै