सर्लाही, १४ चैत । सर्लाही सदरमुकाम मलंगवामा जारी रहेको गोपाल सेवा समिति राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्षलाई वाइपास गरेर इतर पक्षहरुले अबैधानिक रुपमा कब्जा गरेर कमिटि गठन गरी घोषणा गरेको छ ।
गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रले विधान संशोधन गरी ७ जना उपाध्यक्ष २ जना सहकोषाध्यक्ष गरेर २९ सदस्यी केन्द्रीय समिति रहने गरी प्रावधान कायम गरेको हो ।
नेतृत्व चयनका लागि राति सम्भव नभएको भन्दै पूर्व अध्यक्ष, संस्थापक केन्द्रीय समितिका पदाधिकारीहरु, आजिवन सदस्यहरु बन्द सत्रबाट बाहिरिएको ३ घण्टा पश्चात गएराति २ बजेको समयमा गोप्य रुपमा १९ जनाले आफूहरुमा पद बाँडफाँड गरी केन्द्रीय समिति सर्वसहमतीबाट चयन गरी घोषणा गरेका छन् ।
महाधिवेशन उद्घाटन अगावै पुरानो विधान १४ को उपधारा २ अनुसार नै कमिटी गठन गरी मध्यराति सार्वजनिक गरेको आरोप बारा जिल्लाका अध्यक्ष जंगबहादुर यादवले लगाएका छन् । ‘महाधिवेशनमा उपस्थित नै नरहेका व्यक्तिहरुको नाम समेत केन्द्रीय समितिमा देखिएको छ’ उनले भने । यादव समुदायको विकास र उत्थानका लागि गठन गरिएको संस्थालाई केही मानिसहरुले कब्जामा परेका छन् ।
देशभरिका यादव समुदायलाई एक्यवद्ध गरेर जातीय उत्थानमा लाग्न असफल भएका, ३ वर्षको कार्यकाललाई ७ वर्ष सम्म लम्बयाएका र चरम आर्थिक अनियमितता भएको आरोप समितिका पूर्व पदाधिकारीहरुले लगाएका छन् । कार्य समिति २१ सदस्य भएको उल्लेख रहे पनि सह– कोषाध्यक्ष र एकजना केन्द्रीय सदस्यको पद रिक्त रहेको छ । तर संशोधित विधान अनुसार केन्द्रीय समिति २९ सदस्यीय हुनुपर्ने उनीहरुको कथन छ ।
बन्द सत्रमा पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका संस्थापक कारी यादव, प्रदेश सभासदस्य समेत रहेकी आजीवन सदस्य डा.रीना यादव, डा.अशोक यादव लगायतलाई अभद्र व्यवहार गरिएको पीडित पक्षले जनाएको छ । संस्थाको पछिल्लो ७ वर्षमा चरम आर्थिक अनियमितता भएको, संस्थाको आर्थिक कारोबार बैंकबाट नगरिएको केन्द्रीय समितिको पूर्ण बैठक वर्षमा एक पटक समेत नभएको आरोप सल्लाहकारहरुले लगाएका छन् ।