धनकौल गाउँपालिकाको अग्नी पिडित परिवारलाई विभिन्न निकायको सहयोग

   १४ चैत्र २०७८, सोमबार १४:००  

सर्लाही, १४ चैत । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्वर ५ हरकठवाको दलित बस्तीको अग्निपिडित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री सहित लत्ताकपडा प्रदान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाही र मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह लगायतबाट आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
अग्नीपिडितको बस्तीमै पुगेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहितका सुरक्षा अधिकारी र अन्य सरोकारवालाहरुले राहत सामग्री प्रदान गरे । नेपाल रेडक्रस सोसाइटी मलंगवा, बागमती सेवा समाज र वर्ल्ड भिजनसँग समन्वय गरेर आगलागी पीडितका लागि ३० थान त्रिपाल, ३० थान कम्बल, एक÷एक बोरा चामल, भाँडाकुँडा, कपडा लगायतका राहत सामग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी आगलागी भएकै दिन साँझ पीडित परिवारलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतले त्रिपाल, कम्बल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि लगायत राहत सामग्री प्रदान गरेका थिए ।
अग्नीपीडित परिवारहरुका लागि २५ थान कम्बल, २५ थान त्रिपाल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि सहित प्रति परिवार ५÷५ हजार रुपैयाँ पनि प्रदान गरेका छन् ।
गत शनिबार दिउँसो आगलागीमा परेर धनकौल गापाको हरकठवा गाउँको पासवान बस्तीका १३ वटा घर पूर्णरुपमा जलेको थियो भने एउटा घरमा आंशिक क्षति पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै