सहिद परिवारलाई सम्मान गर्न विहिवार उपराष्ट्रपति पुन सर्लाही आउदै

   १५ चैत्र २०७८, मंगलवार १४:२९  

सर्लाही, १५ चैत । सशस्त्र द्वन्द्वमा प्रहरी कारवाहीमा मारिएको र विभिन्न घटनामा मृत्यु भई सहिद घोषणा भएका सहिद परिवारलाई सम्मान गर्न उपराष्ट्रपति नन्दकिशोर पुन विहिवार सर्लाही आउने भएको छ ।
मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको मातहतमा रहेका मधेशी शहीद प्रतिष्ठानले शहीद परिवारलाई राहत प्रदान गर्दै सम्मान गर्न लागेको कार्यक्रममा उपराष्ट्रपति पुन पर्सी सर्लाही आउने कार्यक्रम तय गरिएको हो । सर्लाहीमा सशस्त्र द्वन्द्वमा र विभिन्न घटनामा ६० जनाको मृत्यु भएको थियो ।
मृतक ६० जनाको परिवारलाई जनही एक लाख नगद र कदर पत्रबाट सम्मान गर्न लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले बताए । प्रदेश सचिव महतोका अनुसार विहिवार चैत १७ गते बरहथवा नगरपालिका–२, हजरिया स्थित सामुदायिक भवनमा सम्मान कार्यक्रम राखिएको छ ।
शहीदका परिवारलाई उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्मान गर्न लागिएको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुन विमानमार्फत भोलीनै जनकपुर आउने र राती बर्दिवासमा बास बसेर पर्सी बिहान ११ बजे हजरिया आइपुग्ने प्रदेश सचिव महतोले बताएका छन् ।
उपराष्ट्रपतिको आगमनलाई मध्यनजर गरी सर्लाही प्रशासनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्नमा लागि परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै