जसपा भित्र आन्तरिक विवाद चर्किदै, कार्यक्रममा शिर्ष नेताहरुको उपस्थित न्यून

409 Shares

रौतहट, १९ पुस । जनता समाजवादी पार्टी नेपाल निकट युवाले “युवा नेतृत्व विकास” प्रशिक्षण नामको कार्यक्रम लिएर सातवटै प्रदेशमा जादै छ तर शिर्ष नेतृत्वलाई कार्यक्रम बारे जानकारी नहुँदा पार्टी भित्र आन्तरिक विवाद सृजना भएको देखिन्छ ।
जनता समाजवादी पार्टीमा यो कार्यक्रमलाई लिएर नेताहरु विच नै अनभिज्ञता रहेको जनाइरहदा कतै पार्टी भित्र आन्तरिक विवाद सजना भएको त होइन सजिलै बुझ्न सकिन्छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जसपा नेपालका एक नेताले भन्छन्, यो जसपा नेपालको कार्यक्रम होइन, समाजवाद पार्टीको कार्यक्रम हो । पूर्व समाजवादी पार्टीको युवा संगठनले यो कार्यक्रमको आयोजना गर्दै आएको आरोप लगाए ।
लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा यो कार्यक्रम सम्पन्न भइसकेको छ । आज प्रदेश २ मा कार्यक्रमको आयोजना गरिदैछ भने प्रदेश १, वागमती र गण्डकी प्रदेशमा पनि कार्यक्रम आयोजन गर्ने तयारी भइरहेको छ । सबै कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नै हुने गरेका छन् ।
यो कार्यक्रमको आयोजक तत्कालिन समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघ नेपाल रहेका कारणले पनि यो समाजवादी पार्टीको कार्यक्रम रहेको पुष्टि हुन्छ । केन्द्रमा कार्यक्रमको विरोध भए पनि कार्यक्रम रोकिएको छैन । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले यो कार्यक्रम प्रति आपत्ति जनाए पनि कार्यक्रम नरोकिएको महतो निकट एक नेताले बताए ।
समाजवादी युवा संघको कार्यक्रम भएका कारणले तत्कालिन राजपा नेपाल खासगरी महन्थ ठाकुर, राजेन्द्र महतो र अनिलकुमार झा पक्षका नेताहरु सहभागी हुने गरेका छैनन् । उपेन्द्र यादव प्रमुख अथिति हुने कार्यक्रममा शरतसिंंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादव पक्षका नेताहरुको भने सहभागी हुने गरेको पाइएको छ । प्रदेश २ का प्रदेश सांसद एवं समाजवादी युवा संघका इन्चार्ज योगेन्द्र राय यादवले दुवै पार्टीका युवा संगठनबीच समायोजन नभएको कारणले आफूले आफ्नो संगठनको नाम दिएर यो कार्यक्रम आयोजना गरिरहेको हो तर कार्यक्रम जसपा नेपालकै रहेको बताए ।
उनले भने, ‘दुवै संगठन समायोजन भएर एउटा भएको भए त्यही नामबाट कार्यक्रम हुन्थ्यो तर समायोजन नभएको कारण मैले युवा संघको नामबाट आयोजना गरेको हुँ ।’ यसमा जसपा नेपालका अन्य नेताहरुलाई समेत आमन्त्रण गरिएको तर उनीहरु नआएको उनले बताए । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुलाई प्रत्येक कार्यक्रममा आमन्त्रण गर्ने गरेको तर उनीहरु आफै अनुपस्थित भएपछि त्यसमा आफूले केही गर्न नसकिने उनले बताए ।
जसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले भने, ‘यो कार्यक्रमको बारेमा म कुनै टिप्पणी गर्न चाहन्नँ । यति भन्छु कि दुवै पार्टीका युवा संगठन मिलेर कार्यक्रम गरेको भए राम्रो हुन्थ्यो, एक्लै गर्दा यसले एकीकरण बारे राम्रो सन्देश गएको छैन । यसले समायोजनमा पनि प्रभाव पार्न सक्छ ।’ जसपा नेपालकै अर्का युवा नेता कृष्ण सिंंहले यो तत्कालिन समाजवादी पार्टीको कार्यक्रम रहेको बताए । दुई संगठनबीच एकीकरण नभएको कारणले तत्कालिन समाजवादी पार्टीका युवा संगठनले यो कार्यक्रम गरिरहेको हो तर यसले राम्रो सन्देश नदिएको उनले बताए । ‘पार्टी समायोजनको प्रकृयामा छ । कार्यक्रम गर्नका लागि जति शक्ति प्रयोग गरेको छ,’ उनले भने, ‘त्यो शक्ति समायोजनका लागि गरेको भए आज दुई संगठन एक ठाउँ भएर कार्यक्रम गरिरहेका हुन्थे ।’ तर समायोजनको कामलाई एकातिर थन्काएर आफ्नो पूर्व संगठनबाट कार्यक्रम गर्नुबाट जसपा भित्र आन्तरिक कलह कति सम्म बढेको बारे स्पष्ट रुपमा बुझ्न सकिन्छ एक नेताले भने ।

सम्बन्धित समाचार