प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्न पुटिन सरकारले ३१ मार्चको समय सिमा तोक्यो

मास्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सरकारले केन्द्रीय बैंक र गाजप्रोम बैंकलाई मित्र नभएका देशहरुबाट सबै प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने समय सिमा तोकेको छन् ।
मित्र देश नभएकाहरुलाई पुटिन सरकारले समय सिमा ३१ मार्चबाट लागु हुने गरी तोकेका हुन् । यो नीतिले ईयूका सदस्य राष्ट्रहरू र रुसी महासङ्घ र रुसी कानुनी निकायहरूका नागरिक माथि प्रतिबन्ध लगाउने राष्ट्रहरूलाई लक्षित गरिएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्तो आदेश क्रेमलिनको वेबसाइटमा प्रकाशित भएको हो ।
रुसले रुबलमा भुक्तानी गर्न इच्छुक नदेखिने देशहरूमा प्राकृतिक ग्यासको भुक्तानी रोक्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बताए । आरटी डट कमका अनुसार यो निर्णय गत साता घोषणा गरिएको थियो । युक्रेनमा सैन्य सञ्चालनको विषयलाई लिएर मस्को विरुद्ध लगाइएको पछिल्लो प्रतिबन्धका कारण आयातकर्ताले तेल आयातलाई रोकेर राखेपछि रुसी तेलको खरिद बिक्री द्विविधामा परेको छ ।
युक्रेनमा द्वन्द्व र रुस विरोधी प्रतिबन्धले विश्वव्यापी आर्थिक सङ्कटप्रतिको चिन्ता बढाएको छ । आकासिएको कमोडिटीको मूल्यले उपभोग्य वस्तु, ऊर्जा र खाद्यान्नको मूल्य अहिले सम्मकै उच्च अवस्थामा पुगेको छ । यसले कतिपय मुलुकहरूमा मन्दी ल्याउने डरको अवस्था पैदा भएको छ र विश्वका केही भागहरूमा भोकमरी समेत आउने आङ्कलन गरिएको छ ।
भुक्तानी आफ्नै घरेलु मुद्रामा गरिने रुसको निर्णयले अमेरिका र उसको मित्रहरूले देशको वित्तीय प्रणालीमाथि लगाएको असाधारण दण्डको प्रतिक्रियामा आएको हो । पश्चिमा राष्ट्रहरू र जापानले केही आफ्ना अन्तर्राष्ट्रिय सञ्चितीमा रुसको पहुँचमा अवरोध गरेपछि रुबल कीर्तिमानी न्यून स्तरमा झरेको थियो । गत साता अन्य मुद्रा प्रयोग हुने घोषणा पछि रुबल अमेरिकी डलर र युरोको तुलनामा बलियो अवस्थामा पुगेको थियो ।