आर्थिक अनियमितता गरेको आरोपमा मधेश प्रदेशको दुई पालिकामा अख्तियारको छापा

   १६ चैत्र २०७८, बुधबार १३:३४  

राधेश्याम कुशवाहा
सर्लाही, १६ चैत । कोभिडको समयमा जनताहरुलाई राहत दिने बहानामा चरम आर्थिक अनियमितता गरेको आरोपमा मधेश प्रदेशको दुई वटा स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छुटाछुटै टोलीले छापा मारेको छ ।
सर्लाही जिल्लाको कौडेना र पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको टोलीले छापामारी गरेको हो । मँगलबार दिउँसो करिब २ बजेको समयमा कागजातहरु नियन्त्रणमा लिएको जानकारी दिइएको अख्तियार श्रोतबाट बुझिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीको अनुसार कोरोनाको लागि सरकारले पठाएको राहत वितरणमा अनियमितता गरेको, कोरोनामा प्रभावित नागरिकहरुको लागि छुट्याइएको रकममा अनियमितता गरेको, कर्मचारीहरुको तलबमा गडबडी गरेको सूचनापछि छापामारी गरिएको छ ।
प्रादेशिक कार्यलय बर्दिवासबाट खटिएको अख्तियार अनुसन्धान आयोगको टोलिले कौडैना गाउँपालिकामा छापा मारेर कोभिडको समयमा स्वास्थकर्मीलाई खुवाएको तलब सम्बन्धि कागजात नियन्त्रणमा लिएको बताइएको छ ।
कोरोना प्रभावितका लागि आएको अनुदान रकमको दुरुपयोग भएको उजुरी परेपछी सो सम्बन्धमा बुझ्नका लागि गाउँपालिकामा आएको अख्तियार अनुसन्धान आयोग बर्दिवास कार्यलयको सुचना अधिकारी विजय कुमार शर्माले जानकारी दिए । सो संग सम्बन्धित कागजातहरु समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाईएको बताए ।
कोरोना अनुदानमा कोरोना प्रभावित ७४२ जनाको लागि आएको १० हजारका दरले रकम ७४ लाख २० हजारमध्ये १२ लाख रुपिया स्वास्थ्यकर्मी लाई खुवाएको देखिन्छ । तलबमा रकम अपुग भएपछि कोभिडको समयमा खटिएको स्थायी र अस्थायी कर्मचारीलाई १२ लाख रुपिया खुवाईएको लेखा शाखाले जनाएको छ ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले चैत ९ गतेसम्म हाजिर भएपनि ११ गतेसम्म भौचर उठाएको प्रष्ट देखिन्छ । दर्ता फाईलको समेत बिच बिचमा खाली ठाउँ रहेको छ । अधिकृत साहले हस्ताक्षर गरेको ३४ वटा भौचर समेत टोलिले नियन्त्रणमा लिएको छ ।
चैत्र ८ गते अधिकृत सुरेश साह अहिले सन्चार तथा सुचना प्रविधी मन्त्रालय वा अन्तर्गतको कार्यलयमा सरुवा भईसकेका छन । कौडैना गाउँपालिकाले कोरोना प्रभावित वापत आएको अनुदान रकम वितरण नभएको र अनुदान वापतको खर्च भएको रकम रकमान्तर गरी वितरण गरिने नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव ले जानकारी दिए ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटेको टोलीले पर्साको जगरनाथपुर गाउँपालिकामा छापामारी गरी कोरोना सम्बन्धी सबै फाईलहरु नियन्त्रणमा लिएर फर्केको जनाईएको छ ।

कोरोनाको बेला ८८ लाख रकमबाट प्रभावितहरुलाई राहत बाड्नु पर्ने भए पनि गाउँपालिकाले सो रकमबाट शिक्षकहरुलाई तलब खुवाएको र सो मध्ये २४ लाख रकम गाउँपालिकाका स्वास्थ संयोजक रामसकिल साहलाई सापटी दिएको बताइएको छ । साहको कोरोनाकै कारण मृत्यु भइसकेको छ । गाउँपालिकाका शिक्षकहरुलाई चौमासिक तलब खुवाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले समेत स्वीकार गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै