बर्षौको प्रतिक्षा पछि जयनगर–कुर्था रेल्वे लिकमा नेपाली रेल गुड्यो

   २० चैत्र २०७८, आईतवार १५:४१  

जनकपुरधाम, २० चैत । धेरै बर्षको प्रतिक्षा पछि आईतवार देखि जयनगर–कुर्था रेल्वे लिकमा नेपाली रेल गुडेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीले शनिवार भर्चुअल प्रविधिको माध्यमबाट संयुक्त रुपमा उदघाटन गरेपछि आज देखि बर्षौ देखि तयारी अवस्थामा रहेको रेल्वे लिकमा नेपाली रेल गुडेको हो ।
आज बिहान ८ बजेदेखि यात्रु सहितको रेल सेवा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजे कुर्था स्टेशन आइपुग्ने छ । कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले बताए ।
जयनगरबाट पुन ः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ ।
जयनगर–कुर्था रेल्वे खण्डमा गुड्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए । सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले जानकारी दिए ।
१० देखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ । जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादर समेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै