भूमि आयोगका पदाधिकारीहरुद्धारा प्रजिअ संग भेटघाट र छलफल

राधेश्याम कुशवाहा
सर्लाही, २२ चैत । हालै नियुक्त हुनु भएका राष्ट्रिय भूमि आयोगका अध्यक्ष तथा सदस्यहरुले सर्लाहीको प्रमुख जिल्ला अधिकारी संग सोमवार भेटघाट गरेर भूमि सम्बन्धि जनताहरुको गुनासोलाई कसरी सम्बोधन गर्ने बिषयमा छलफल गरिएको छ ।
आयोगको सर्लाही जिल्ला अध्यक्ष सहितका पदाधिकारीहरुले प्रजिअ थानेश्वर गौतम संग जिल्ला प्रशासन कार्यालय मलंगवामै भेटेर परिचय एवं जिल्लाको अवस्था बारेमा छलफल गरेको हो । नियुक्ति पाएपछि आयोगका अध्यक्ष एवं सदस्यहरुले प्रजिअ गौतमसँग भेटघाट गरेर कामकाजलाई कसरी अगाडि बढाउने विषयमा छलफल गरेका छन् ।
संघीय सरकारले केही दिअघि मात्र राष्ट्रिय भूमि आयोग सर्लाहीको अध्यक्षमा बरहथवा नगरपालिका अन्तर्गत चन्द्रप्रकाश वाग्लेलाई नियुक्त गरेका थिए । त्यस्तै, आयोगको सदस्यहरुमा ईश्वरपुरका मदन विश्वकर्मा, चन्द्रनगरका रणधीर यादव र बागमतीकी अन्जु पौडेल नियुक्त गरेको थियो ।
आयोगले सर्लाहीमा भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने देखि अव्यवस्थित बसोवास गर्नेहरुलाई व्यवस्थिति बनाउने, बसोवासका लागि आवश्यक प्रवन्ध मिलाउने कामको सुरुआत गर्ने भएका छन् । आयोगको जिल्ला समितिमा नापी कार्यालयका प्रमुख सदस्य सचिव तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, भूमिसुधार तथा मालपोत र वन कार्यालयका अधिकृत स्तरका कर्मचारी सदस्य रहने छन् ।
राष्ट्रिय भूमि आयोगको यसअघिको समितिले लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, हरिपुर, बरहथवामा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासको फारम भर्ने काम गराइसकेको बताइएको छ ।