शैलेन्द्र खनाल सेवा निवृत भएपछि सशस्त्र प्रहरी बल नेतृत्व विहिन

   २८ चैत्र २०७८, सोमबार १६:२३  

काठमाडौं, २८ चैत । चार बर्ष सम्म सशस्त्र प्रहरीको सर्बोच्च पद (आइजीपी) मा बसेर सोमवार शैलेन्द्र खनाल सेवा निवृत्त हुनु भएको छ ।
सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षक पदमा आसिन खनाल उमेर हदबाट आजबाट विधिवत रुपमा सेवा निवृत्त हुनु भएको हो । खनाल सेवा निवृत्त भएपनि रिक्त स्थानमा कसलाई महानिरीक्षक बनाउने कुरामा अहिले सम्म टुंगो नलाग्दा सशस्त्र प्रहरी बल नेतृत्वविहिन बनेका छन् ।
खनाले २०७४ चैत २७ गते सशस्त्र प्रहरी बल नेपालको आइजीपी पदमा नियुक्त हुनु भएका थिए । उमेरको हदबाट उनी चार बर्षे कार्यकाल पुरा गरेर अवकाश पाएपनि सो पदमा नेपाल सरकारले नयाँ आइजीपीको टुंगो लगाउन नसक्दा सशस्त्र प्रहरी बल नेतृत्व विहिन बनेका हुन् ।
एआईजी रहेका दुईजना मध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । नियुक्त हुनेको उमेर हदको हिसावले २१ दिनका लागि मात्रै नयाँ महानिरीक्षकमा एआईजी पुष्पराज केसी र रामशरण पौडलको दाबी छ । दुवैजना खनालकै ब्याचमेट हुन् । उमेर हदका कारण १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने देखिन्छ ।
नयाँ नेतृत्वका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्नुपर्छ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । तर, अहिले सम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैनन । लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृह सचिव नेतृत्वमा रहने बढुवा समितिले महानिरीक्षक सिफारिस गनुपर्ने कानुनी प्रावधान रहेको छ ।
२१ दिने कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि तीब्र प्रतिस्पर्धा देखिएको छ । डीआईजीहरूहमा राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम आइजीपीको रेसमा अगाडी छन् । अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । गौतम भने २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएका थिए । सशस्त्र प्रहरीको स्थापनासँगै उनीहरू २०५८ मा एकैपटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो वरीयतामा छन् । वरीयतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल पनि एआईजीको दौडमा छन् । सशस्त्र प्रहरी बलमा दुईजना मात्रै एआईजी रहने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै