इश्लामाबाद । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरान खानको पूर्व सल्लाहकार र मुख्य सचिव जस्ता अधिकारीहरुलाई पाकिस्तान छोड्नमा प्रतिबन्ध लगाएको छ ।
तत्कालिन प्रधानमन्त्री खानका विशेष सहयोगी शाहबाज गिल र शहजाद अकबर सहितका सहयोगीलाई “स्टप लिस्ट” राखेर विदेश जानमा प्रतिबन्ध लगाइएको पाकिस्तानी मिडियाहरुमा खबर प्रकाशित भएको हो ।
पूर्व मुख्य सचिव आजम खान, पीटीआईका सामाजिक सञ्जाल प्रमुख अर्सलान खालिद र मोहम्मद रिजवानको नाम उक्त लिस्टमा समावेश छ । पञ्जाब प्रान्तका महानिर्देशक गौहर नफीसको नाम पनि सूचीमा छ । शनिबार इमरान खानको सरकार पतन भएपछि उनको सहयोगी माथि कारबाही गरिदै विदेश जानमा रोक लगाएका छन् ।
यसअघि शनिबार अबेर राति नेशनल एसेम्बलीमा इमरान खान सरकार विरुद्धको अविश्वास प्रस्तावमा मतदान भएको थियो, जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेपछि खानको सरकार पतन भएको थियो ।
पाकिस्तानको इतिहासमा प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचन सम्म अर्थात् अक्टोबर २०२३ सम्म पदमा रहने छन् ।