वासिङ्टन । अमेरिकी कांग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेपछि चीनले कडा विरोध जनाएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले अमेरिकी कांग्रेसका ६ जना सदस्यले ताइवानको भ्रमण गरेकोमा विरोध जनाएको हो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणबाट एक चीन नीतिको उल्लङ्घन हुने दूतावासको भनाइ छ ।
‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन–अमेरिकी संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न र गलत संकेतहरू पठाउनबाट जोगिन आग्रह गर्दछौँ ।’ दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
‘चिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने छ’ प्रवक्ताले थपे ।
अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, दक्षिण क्यारोलाइनाका रिपब्लिकन सिनेटर लिन्जी ग्राहम सहितको अमेरिकी कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान पुगेको हो ।