राजस्थानद्धारा ७ रनले नाइटराइडर्स पराजित

   ६ बैशाख २०७९, मंगलवार १२:३७  

मुम्वई । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमवार राति सम्पन्न कोलकाता नाइटराइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले ७ रनको झिनो अन्तरबाट जित हासिल गरेको छ ।
जोस बटलरको शतक र यजुवेन्द्र चहलको ह्याट्रिक विकेटको मद्दतमा राजस्थानले जित हासिल गर्न सफल भएको हो ।
टस हारेर व्याटिंगको निमन्त्रणा पाएको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१७ रनको योगफल नाइटराइडर्स सामु तयार पारे । राजस्थानको लागि ओपनर जोस बटलरले ६१ बलमा १०३ रन बनाए जुन यसपालि जारी आईपीएलमा दोस्रो शतक हो । यसैगरी कप्तान सन्जु स्यामसनले १९ बलमा ३८ रन योगदान गरे ।
बलिङतर्फ सुनिल नरेनले २ विकेट लिए ।
२१८ रनको विजय लक्ष्य पछ्याउने क्रममा कोलकाताका फिन्च र श्रेयस अय्यरले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे । फिन्चले २८ बलमा ५८ र अय्यरले ५१ बलमा ८५ रन जोडे । नितिश राणाले १८ र उमेश यादवले २१ रन बनाए ।
म्याचको १७ औं ओभर सम्म कोलकाताको स्थिति मजबुत जस्तो देखिएको थियो । तर १७ औं ओभरको अन्तिम तीन बलमा युजवेन्द्र चहलले ह्याट्रिक विकेट लिएर खेल राजस्थानको पक्षमा पार्न सफल भए । चहलको नाममा ५ विकेट रह्यो । उनी प्लेअर अफ दी म्याच भए ।
चहलले श्रेयस अय्यर, शिवम मावि र प्याट कमिन्सलाई लगातार आउट गरेर ह्याट्रिक गरेका थिए । आईपीएलको इतिहासमा यो २१ औं ह्याट्रिक हो । राजस्थानको बलरले ह्याट्रिक विकेट लिएको भने यो पाँचौ पटक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै