चर्को गर्मी र तातो हावाको कारण मध्य तराईको जनजीवन प्रभावित

   ६ बैशाख २०७९, मंगलवार १६:११  

रौतहट, ६ वैशाख । केही साता देखि निरन्तर रुपमा बढिरहेको गर्मीको कारण रौतहट सहित मध्य तराईको सामान्य जनजीवन प्रभावित बन्दै गएको छ ।
चैत महिनाको अन्तिम साता देखि निरन्तर रुपमा बढिरहेको गर्मीको कारण दिउसो घरबाट बाहिर निस्कन मानिसहरु छाडेको हो । चर्को गर्मीले शरिरबाट खलखली पसिनाहरु छुट्न थालेका छन् भने विगत तिन चार दिन देखि रौतहट सहित यस भेगको तापक्रम ३८ देखि ४० डिग्रीको आसपास पुगिरहेको छ । गर्मी र असाध्य तातो घामले गर्दा दिउँसोपख घरबाहिर निस्कनै मुस्किल पर्छ । गर्मीले ज्याला मजदुरी गरेर खाने मजदुर परिवार र खेतबारीमा काम गर्नुपर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन् ।
घाम र गर्मीले काम गरेर खान समस्या परेको उनीहरुको गुनासो छ । गर्मीले गर्दा टाउको दुख्ने, मुर्छा पर्ने, शरीरमा अल्छिपना हुने जस्ता स्वास्थ्य समस्या भएका बिरामीहरु निकै बढेका छन् । ग्रामिण भेगका बस्तीहरु गर्मी र धूलो धुँवाबाट झनै बढी प्रभावित भएका छन् ।
यतिवेला ग्रामिण सडकमा गुड्ने ट्याक्टर, टिपरहरु निर्माण सामग्री बोकेका सवारी धेरै दौडिँदा सडकहरु खराब भएका छन् । बजार क्षेत्रका मानिसहरु गर्मी छल्न पेय पदार्थको बढी सेवनमा लागिपरेका छन् भने कतिपयहरु तिर्खा मेटाउन काकडो, खरबुजाको प्रयोग गर्ने गरेको बताइएको छ ।
प्रादेशिक अस्पताल गौरका प्रमुख कष्णाप्रसाद साहले बढ्दो गर्मीबाट जोगिन चर्को घाम लागेको र तातो हावा चलेको बेला घरबाहिर ननिस्कन अनी शरीरलाई शित्तलता दिने खानेकुरा पर्याप्त खान सुझाव दिए । गर्मीको राप र हावा चल्ने अहिलेको समयमा आगलागीको समेत उत्तिकै जोखिम हुने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
गर्मीको कारण वारा सदरमुकाम कलैया, रौतहटको गौर, सर्लाहीको मलंगवा, महोत्तरीको जलेश्वरमा सर्वसाधारण जनताहरुको चाममा निकै कमि आएको छ । विहान वेलुका मानिसहरुको वजारमा भिड भएपनि दिउसो मानिसहरुको आवागमन न्यून हुँदै गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै