काठमाडौ । नेपालले नियमित यात्रुवाहक उडान खोल्न बारम्बार अनुरोध गरे पनि चीनले इच्छा नदेखाउँदा दुई देश बीचको यात्रा महँगो बनेको अधिकारीहरूले बताएका छन्।
नेपालबाट चीन प्रत्यक्ष उडान नहुँदा यात्रा लामो र महँगो बन्नुका साथै नेपाललाई आर्थिक र पर्यटकीय हिसाबमा पनि असर परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछानेले बताएका हुन्।
काठमाडौं स्थित चिनियाँ दूतावासमार्फत पटकपटकको पत्राचार र आग्रहपछि पनि व्यावसायिक यात्रुवाहक उडानबारे चीनले सकारात्मक प्रतिक्रिया नजनाएको उनको दाबी छ।
“भौतिक रूपमा छलफल हुन सकेको छैन। हामीले पत्राचार गरिरहेका छौँ। यस प्रक्रियामा दूतावासले समन्वय गरेको छ तर उताबाट हालसम्म सकारात्मक जवाफ आएको छैन,” लामिछानेले भने।
चिनियाँ दूतावासका प्रवक्ता चाङ् सूले भने नेपालले कोरोनाभाइरसको दोस्रो लहरको बेला एकतर्फी रूपमा नियमित उडान ठप्प पारेको दाबी गर्दै उडानका विषयमा छलफल भइरहेको बताए।
दुई वर्षअघि कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरु हुँदा चीनले सङ्क्रमणको जोखिम कम गर्नका लागि भन्दै व्यावसायिक यात्रुवाहक उडानमा प्रतिबन्ध लगाएको थियो। सङ्क्रमण दर कम भएसँगै नेपालमा लगाइएका प्रतिबन्धहरू हटाइएका छन्।
“हामीले नेपाल खुला भइसक्यो, अब तिमीहरूले पनि नियमित यात्रुवाहक उडान खुला गर। त्यहाँको एयरलाइन्सहरूलाई प्रोत्साहन गर भनेका छौँ। हामी उतैको सूचनाको प्रतीक्षामा छौँ,” लामिछानेले प्रस्ट्याए।
गत मार्चको अन्त्यमा नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सीलर वाङ यीसँग पनि नियमित उडान खुला गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयबाट जारी विज्ञप्तिमा दुई देशबीचको पर्यटन प्रवर्द्धन र जनताबीचको सम्पर्कलाई बढाउने उद्देश्यले कोभिड-१९ को महामारीका कारण अवरुद्ध यात्रुवाहक हवाई सेवा चाँडै नै सुचारु गर्न दुवै परराष्ट्रमन्त्री सहमत भएको जनाइएको थियो। तर उडान खुल्नेबारे कुनै सङ्केत नदेखिएको र यसले विभिन्न व्यापार व्यवसायमा प्रत्यक्ष असर पारेको जानकारहरू बताउँछन्।