काठमाडौँ, ८ वैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लानन्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
विस्फोट पछि घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थलको प्रकृति हेर्दा निकै शक्तिशाली विस्फोट भएको अनुमान गर्न सकिन्छ ।विस्फोटमा परेका ‘मानिसको शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ, उद्योगको छाना उडाएको छ’ उनले भने, ‘धेरै नै इनर्जीका साथ विस्फोट भएको देखिन्छ । घटनास्थलको अवस्था निकै भयावह रहेको वताए ।’ छेउमा रहेका घरहरुका सिसा पनि फुटेका छन् ।
घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना मानिस कार्यरत रहेका थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भइसकेको छ । सात जना घाइतेहरु अस्पतालमा छन् । गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।
अक्सिजन भर्ने क्रममा विहीवार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले बताए । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए । ‘के कमजोरी भयो भन्ने कुरा थप अनुसन्धानबाट खुल्दै जाला, हामीले गम्भीर रुपमा अनुसन्धान गर्छौं,’ उनले भने ।