मधेश प्रदेशलाई अवसरै अवसर

दरभंगा, बिहार — नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको दरभंगास्थित विमानस्थलका कारण नेपालको मधेस प्रदेशवासीले पनि लाभ उठाउन पाउने भएका छन् । विमानस्थल सञ्चालन आएसँगै मधेसका कतिपय जिल्लाका स्थानीय केही घण्टामै मुम्बई, दिल्लीलगायत भारतीय सहर पुग्न सक्ने भएका हुन् । उक्त विमानस्थल प्रदेश राजधानी जनकपुरबाट ८० किलोमिटरको दूरीमा छ ।
दरभंगामा विकसित ‘एयर कनेक्टिभिटी’ ले सिंगो प्राचीन मिथिला (नेपाल र भारत दुवै क्षेत्रका) लाई आधुनिकता र वैभवताले सम्पन्न सहरसँग जोडेको हो । दरभंगाबाट अहिले डेढदेखि अढाई घण्टाभित्रै दिल्ली, मुम्बई, कोलकाता, बैंग्लोर र हैदराबाद पुग्न सकिने भएको छ । सर्वसाधारणका लागि उक्त विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पुग्दै छ । यस अवधिमा ७ लाख बढीले आउजाउ गरेको तथ्यांक छ ।