रौतहट, १३ वैशाख । जिल्ला अनुगमन समिति तथा सुरक्षा अधिकारीहरुकै मिलोमतोमा सलाहीमा अबैध क्रशर उद्योगहरु संचालनमा रहेका छन् ।
सर्लाही जिल्लाको वागमती नदीमा नियम विपरित अबैध रुपमा क्रसर उद्योगहरु संचालनमा रहेतापनि सुरक्षा अधिकारीहरु आँखा चिम्लेर बेखवर जस्तो प्रस्तुत हुने गरेका हुन् ।
बसबरिया गाउँपालिका १ मानपुर टोल स्थित वागमती नदीको भइसासुर घाटमा ऐन कानुनलाई मिच्दै तीन वटा अबैध मोबाइल क्रसर सञ्चालनमा रहेको पाइएको छ । गाउँपालिकाका प्रमुख र प्रशासकिय अधिकृत राम प्रगास यादवको समेत मिलोमतोमा बागमती नदी व्यापक रुपमा दोहन भइरहेको बुझिएको छ ।
तत्कालीन जिल्ला बिकास समितिले बागमती नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभल निकासी गर्न ४० लाखमा ठेक्कामा लगाउने गरेको थियो । तर नयाँ संरचनामा आएपछि बसबरिया गाउँपालिकाले जिबिसकै आइइलाई आधार मानेर कानुन बिपरित बागमतीको ठेक्का लगाएर केही निर्माण ब्यावसायीको मिलोमतोमा नदीमै अबैध मोबाइल क्रसर सञ्चालन गरेर दोहन गरिरहेको गम्भीर आरोप लागेको छ ।
बसबरिया गाउँपालिकाले भइसासुर घाटमा बाबा कन्स्ट्रक्सन मानपुर ५ सर्लाहीलाई १३ लाखमै बागमती नदीको ठेक्का दिएको छ । गापाको प्रमुख प्रशासकीय अधिकृत राम प्रगास यादवले कन्स्ट्रक्सनका सञ्चालक राम ज्ञान रायसंगको मिलोमतोमा सस्तोमा ठेक्का दिएका छन् । राम ज्ञानको नाममा रहेको भइसासुर कन्स्ट्रक्सनले पाएको ठेक्कामा स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिहरुको पनि शेयर रहेको छ । सबै राजनैतिक दलको मिलोमतोमा सस्तोमा नै ठेक्का दिइएको स्रोतको दाबी छ ।
बागमती नदी अबैध दोहन गर्न र मोबाइल क्रसर सञ्चालन गर्नको लागि गाउँका करिब ५० जना भन्दा बढी र केही टाठाबाठाहरुको शेयर रहेको छ । ती सबै गाउँले अबैध दोहनमा सामेल भएपछि कोही गाउँलेले अबैध क्रसर सञ्चालनको विरोध गरेका छैनन् । स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटलाई मिलाएर बागमती नदीमै दिनदहाडै अबैध मोबाइल क्रसर लगाएर खोला दोहन भईरहदा कोही बोलेका छैनन् ।