रौतहटको १८ पालिकामा मेयर देखि सदस्य सम्ममा ४८६८ मनोनयन पत्र दर्ता

रौतहट, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रौतहटको १८ वटा पालिकाहरुमा विभिन्न दल र स्वतन्त्र गरेर ४८६८ मनोनयन पत्र दर्ता गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार मनोनयन पत्र दर्ता गराउन समय १२ गते अन्तिम दिन जिल्लाको १६ नगरपालिका र दुई गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, महिला दलित सदस्य सम्ममा ४८६८ मनोनयन पत्र दर्ता गरिएको हुन् ।

मनोनयन पत्र दर्ता हुने पालिकामा माधवनारायण नगरपालिकामा सबै भन्दा बढि ३५२ र सबै भन्दा कम मनोनयन पत्र दर्ता हुनेमा मौलापुर नगरपालिकामा ९२ परेको बताइएको छ ।



चन्द्रपुर नगरपालिकामा ३१३ जनाले दर्ता गराएको छ । जिल्लाकै जेठो नगरपालिकाको रुपमा रहेका गौरमा ३३६ जनाको मनोनयन दर्ता गराएको छ । गरुडामा २२९ जना, ईशनाथ नगरपालिकामा २७७, कटहरीयामा २४५, गढीमाईमा ३०९, गुजरामा ३०४, देवाही गोनाहीमा २०४, परोहामा २७३, फतुवा विजयपुरमा ३४३, बौधिमाईमा ३११, राजदेवीमा २५४, राजपुरमा २८३, वृन्दावनमा ३०४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

यस्तै रौतहटका दुई गाउँपालिकाहरु मध्ये दुर्गा भगवतीमा १९६ र यमुनामाईमा २४३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटको प्रमुख अधिकृत छोटेलाल दासले जानकारी दिए ।