मतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा जडान गर्न आयोगको निर्देशन

काठमाडौं, १६ वैशाख । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा जडान गर्न निर्देशन दिएको छ ।
मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सिसी क्यामराको जडान गर्न निर्देशन दिइएको हो ।
सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नै पर्ने वा नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताए ।
उनले फोटोसहितको मतदाता नामावलीमा यसपटक लाहाछाप लगाएर निर्वाचन अधिकृतलाई पठाइएको, मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको व्यवस्था गर्न भनिएको स्मरण गराए ।
आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गरे । उनले निर्वाचनका क्रममा बारम्बार सोधिने प्रश्न, मतदान गर्ने सही तरिका, आचारसंहिता सम्बन्धी ब्रोसर, साझेदार संस्थाबाट प्राप्त जानकारीमूलक पुस्तक, जनस्वास्थ्य मापदण्डको पालना सम्बन्धी पोष्टर आदि पठाइको जानकारी दिए ।