गौतम बुद्ध अन्तरराष्ट्रिय विमान स्थलको परिक्षणकालमै त्रुटी, पहिलो गाँसमै ढुंगा पर्यो

236 Shares

चिनियाँ निर्माण कम्पनीद्धारा भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो त्रुटी भेटिएको छ ।

नेपालको नागरिक उडड्यनको क्षेत्रमा विशेष महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरणपछि टर्निङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसले गर्दा उक्त विमानस्थलमा तत्काल नै वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ ।

बिहिबार परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको राष्ट्रिय ध्वजावाहक जहाज ए–३३० रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको हाे । जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो तर पाइलटले नयाँ विमानस्थल भएको कारण २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरेका थिए जसले अर्को विकल्प मागे । प्राविधिकहरुले १–० रनवेमा अवतरण गर्न अनुमति दिए । त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन र टोइङ गर्नुपर्यो । टोइङ भनेको जहाज आफ्नै क्षमतामा रनवेबाट फर्कन नसकेपछि टोइङ भेहिकलको मदतमा तान्नु हो ।

उक्त जहाजका पाइलट रमन घिमिरेले तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीले उडान भर्न सक्ने अवस्था नरहेको बताएका छन् । धावनमार्ग विस्तार र टर्निङ स्पेस थप गरेपछि मात्र वाइडबडी जहाज सञ्चालन गर्न सकिने उनको सुझाव छ ।

‘विमानस्थलमा तत्काल वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न सक्ने अवस्था छैन । जहाज अवतरणपछि टर्निङमा समस्या छ । टर्निङ स्पेस नै पुग्दैन ।’ उनले थपे ‘वाइडबडी जस्ता ठूला जहाज सञ्चालनको लागि धावनमार्ग विस्तार र टर्निङ स्पेस थप गर्न आवश्यक छ ।’

धेरै उत्साहका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज नै सञ्चालन गर्न नसकिने भएपछि सरोकारवालाहरुलाई पहिलो गासमा नै ढुंगा लागेको छ । विमानस्थल निमार्ण गर्दा ध्यान नपुर्याउँदा यस्तो समस्या उत्पन्न भएको हो ।

अरब रकम खर्च गरेर सञ्चालनमा आएको विमानस्थलमा ठूला जहाज नै सञ्चालन गर्न सक्ने अवस्था नभएपछि थप समस्या उत्पन्न भएको छ । उक्त आयोजनाका प्रमुख हालका नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । विमानस्थलको डिजाइनका सन्दर्भमा पटक-पटक विवाद समेत उत्पन्न भएको थियो तर आयोजनाका प्रमुख अधिकारीले त्यसको वेवास्ता गरेका थिए ।

अधिकारीले जिम्मेवारी लिएका यस्ता थुप्रै आयोजना पटक-पटक विवादमा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार