अमेरिका नेपाल सम्बन्ध ७५ बर्षको अवसरमा अमेरिकी उप मन्त्री उज्रा जिया काठमाडौ आउने

   १७ बैशाख २०७९, शनिबार १४:३७  

नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट अर्को एक उच्चस्तरीय भ्रमण हुने भएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपालमा स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल आउन लागेकी हुन् ।
परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीका अनुसार उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लागेकी हुन् । तर उनको नेपाल भ्रमणको सम्बन्धमा अमेरिका र परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।
भ्रमणका क्रममा उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । जिया अमेरिकाको तिब्बती मुद्दाका लागि विशेष संयोजक पनि हुन् । नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीप्रति अमेरिकाले चिन्ता व्यक्त गर्दै नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आइरहेको छ ।

तर‚ एक चीन नीतिमा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ । तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको विशेष चासो छ । नेपाल सरकारले आफ्नो भूमिमा तिब्बतीहरूको कुनै पनि चीन विरोध कार्यक्रमलाई सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्दै रोक्दै आएको छ ।

उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकपछि नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरूको उच्चस्तरीय भ्रमण हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन दुवै देश जुटेका छन् । लगत्तै अमेरिकाबाट एकपछि अर्को भ्रमण हुन थालेको छ ।
यसअघि यहि महिनाको ९ देखि ११ सम्म सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरुको टोलीले नेपालको भ्रमण गरेको थियो । वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक विदेश मन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन् । त्यस अघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए ।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुने सक्ने तर त्यसबारेमा बाहिर ल्याउन मिल्ने खालको नभइसकेको बताएकी थिइन् ।

नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी सेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालिन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यस यता त्यहि उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको छैन ।

त्यसयता राजा महेन्द्रले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र (सन् १९८३ मा) ले एक पटक राजकीय भ्रणण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्रप्रमुखको रुपमा कसैले पनि अमेरिकाको भ्रमण गरेका छैनन् । सरकार प्रमुखको रुपमा भने शेरबहादुर देउवाले सन् २००२ मा प्रधानमन्त्रीको हैसियतमा भ्रमण गरेका थिए ।

नेपालबाट पछिल्लो पटक चार वर्ष अघि सन् २०१८ मा (२०७५, पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) मा नेपालको भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको फाउन्डरको रुपमा आएका थिए ।

अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमतीको हैसियतमा हिलारी नेपाल आएकी थिइन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कुटनीतिक सम्बन्ध ७५औं वर्ष पुगेको अवसरमा अमेरिकाबाट अझै उच्च तहको भ्रमण हुन सक्ने आकलन गरिएको उल्लेख छ । ‘अमेरिकाबाट विदेशमन्त्री एन्टोनी ब्लिंकन वा उपराष्ट्रपति कमला ह्यारिससम्मको पनि भ्रमण हुन सक्छ,’ उक्त स्रोतले भन्यो, ‘र, नेपालबाट पनि प्रधानमन्त्रीस्तरमै उच्च भ्रमण हुनसक्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै