रौतहट सहित मुलुकभर हर्षोउल्लासको साथ मनाए इद–उल–फित्रको पर्व

882 Shares

रौतहट, २० वैशाख । मुस्लिम धर्माबलम्बीहरुको पवित्र पर्व इद–उल–फित्रको अवसरमा मंगलवार मस्जिदमा नमाजको पाठ गरी एकआपसमा शुभकामना साटासाट गर्दै रौतहट सहित मुलुकभरी हर्षोउल्लासको साथ पर्व मनाएका छन् ।
साउदी अरबको पात्रो अनुसार दशौं महिनाको पहिलो दिन यो पर्व मनाउने गर्दछन् । हर्षोल्लस र खुशीपूर्वक शरीरको दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद–उल–फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बेलुकी चन्द्रमा देखिएपछि भोलिपल्ट इद–उल–फित्र मनाउने गर्दछन् ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबरको बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छ अनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद–उल–फित्रको बिहान सूर्योदय अघि पढिने नमाजलाई फजर भनिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक बकर इद र इद उल फितरमा विशेष नमाज पढ्ने गर्दछन् ।
विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद एवं शुभकामना एकआपसमा साटासाट गर्ने परमपरा छ । इद उल फित्रको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचना अनुसार मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार