लोकप्रिय बन्दै भारतीय एप टिकटक

   २१ बैशाख २०७९, बुधबार ०७:११  

रौतहट — सन् २०२० देखि भारतमा टिकटक चलेको छैन । लद्दाखमा चिनियाँ सेनासँग भएको झडपपछि भारत सरकारले टिकटक, विच्याटसहित चिनियाँ एप र प्रविधिमा प्रतिबन्ध लगाएको छ । टिकटकको सट्टा अहिले भारतमा जोश, मोज, एमएक्स टकाटक, ठीकठाकजस्ता एपहरू फस्टाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सीमा क्षेत्रमा भएको झडपपछि चीनका इन्टरनेट सामग्रीहरू जासुसीका लागि प्रयोग हुनसक्ने आशंकाले भारतले ५० वटा एपहरू बन्द गरिदिएको थियो । त्यो बेला टिकटकको माउ कम्पनी बाइटडान्सले आफूहरू भारतीय कानुनअनुसार चलेको र भारतीय प्रयोगकर्ताका कुनै पनि सूचना चिनियाँ सरकारलाई नदिएको बताएको थियो । तर, भारत सरकारले टिकटकसहित २ सयभन्दा बढी चिनियाँ एपहरूलाई अझै पनि कालोसूचीमै राखेको ब्लुमबर्गको समाचारमा जनाइएको छ ।
त्यसयता भारतका स्थानीय स्टार्टअपहरूले टिकटकजस्ता एपहरू बनाउन थाले । गेमिङ, म्यासेजिङ र प्रोडक्टिभिटी एपहरू पनि प्रशस्तै बढेको एनडीटीभीको एक समाचारमा उल्लेख छ । प्रतिबन्धपछि भारतमा स्थानीय एप–मार्केट मौलाएको थियो । टिकटकमाझैं छोटा भिडियो राख्न मिल्ने एपहरूको लोकप्रियता सबैभन्दा बढी देखिएको छ । यिनले करोडौं प्रयोगकर्ता जम्मा पार्नुका साथै गुगल र गोल्डम्यान स्याक्स गुप्रबाट अर्बौं डलर आकर्षित गरिरहेको ब्लुमबर्गले जनाएको छ ।

मासिक १५० मिलियन सक्रिय प्रयोगकर्ता रहेको जोशले केही समयअघि मात्रै लगानीकर्ताबाट ८०५ मिलियन डलर संकलन गरेको बताएको थियो । छोटो समयमै यो ५ अर्ब डलरको कम्पनी बनेको छ । यसले अङ्ग्रेजी नबोल्ने भारतीय प्रयोकर्तालाई आफ्नो प्लाटफर्ममा तान्न सकेको छ । बैंग्लुरुमा रहेको भर्स इन्नोभेसनले जोश एप बनाएको हो ।

‘टिकटक बन्द भएपछि मानिसहरू त्यसको विकल्प खोजिरहेका थिए,’ भर्सका सह–संस्थापक उमंग बेदीले मिडियासँग भनेका छन्, ‘हामीले चिनियाँ एप प्रतिबन्ध भएको चौथो दिन जोश सार्वजनिक गरेका थियौं ।’ टिकटकका २ सयजना प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) हरूलाई सम्पर्क गरी तिनलाई जोशमा ल्याएको बेदी सम्झन्छन् । ‘ती आएपछि हाम्रो जोशले वैधानिकता पायो,’ उनले भनेका छन् । कतिपय अमेरिकी कम्पनीहरूले पनि टिकटकको विकल्प बनाएर भारतको ठूलो जनसंख्यालाई आकर्षित गर्न खोजिरहेको बताइन्छ । अघिल्लो वर्ष भारतमा सबैभन्दा बढी प्रयोग गरिएको एपमा इन्स्टाग्राम थियो । फेसबुक र इन्स्टाग्रामजस्ता एपहरूले स्थानीय भाषामा पर्याप्त कन्टेन्ट नदिने हुनाले जोशस्ता एपका लागि अहिले राम्रो सम्भावना रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै