जिम्बाब्बे माथि नेपालको शानदार जित

रौतहट, २१ वैशाख । नेपालले अन्तिम टी–२० खेलमा जिम्बाब्बे माथि ८ विकेटले जित हासिल गरेको छ ।
यो जित संगै तिन टी–२० खेलको सिरिज १÷१ को बराबरी भएको हो । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो । बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए । कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । दीपेन्द्र सिंह ऐरी भने शून्यमा अविजित रहे । जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले १÷१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । ब्याटिङमा चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९, सेन्ट कायले १४, तडिवान्से मरुमानीले २७ र ल्युक जङ्ग्वेले २२ रन बनाए ।
नेपालका लागि भने कप्तान सन्दीप लामिछानेले २, बसिर अहमद र सोमपाल कामीले समान १÷१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गराए ।