चिसोको कारण रौतहटको चार वटा स्थानीय तहको सम्पूर्ण विद्यालय तिन दिनको लागि बन्द

   ४ माघ २०७७, आईतवार १६:२४  

रौतहट, ४ माघ । शितलहर संगै बढेको अत्याधिक चिसोको कारण सामुदायिक तथा संस्थागत विद्यालयहरु आउदो तिन दिन सम्मको लागि बन्द गरेको छ ।
गौर, गरुडा, परोहा र राजपुर नगरपालिकाले एक सुचना जारी गरेर आउदो मंगलवार सम्म उक्त नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय अनुसार आज आईतवार देखि तिन दिन सम्मको लागि विद्यालयहरु बन्द गरिएको हो ।
विहानै देखि बाक्लो हुस्सु संगै अकाशबाट निरन्तर रुपमा खसिरहेको तुसारोबाट बढेको अत्याधिक जाडोबाट कक्षा कोठा भित्र बसेर अध्ययन गर्ने अवस्था नहुँदा जिल्लाको चार वटा नगरपालिकाले तिन दिन सम्म सबै विद्यालय बन्द गर्ने सो नगरपालिकाहरुले जनाएका छन् ।
परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको अनुसार विद्यालयमा अध्ययन गर्ने सानो सानो छात्रछात्राहरुलाई कक्षा कोठामा राखेर अध्यापन गराउन निकै कठिनाई भईरहदा तथा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै विद्यालय बन्द गर्न नगरपालिका बाध्य भएको छ ।
अत्याधिक चिसोबाट सदरमुका गौरमा आउने सेवाग्राहीको संख्यामा निकै कमि आएको तथा गौर नगरपालिकाबाट गौरको प्रत्येक चोकमा दाउरा राखेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाइएको गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले जानकारी दिए । चिसोबाट आम जनसमुदायमा परिरहेको कठिनाईलाई मध्यनजर राख्दै दलित एवं ढाँगर बस्तीमा समेत दाउरा राखेर आगो बाल्ने व्यवस्थापन गरिएको उनले स्पष्ट पारे । नगरपालिकाको सहयोगमा मुसहर एवं ढाँगर बस्तीका परिवारलाई न्यानो कपडा एवं कम्वल समेत वितरण गरिएको बताए ।
रौतहटको १८ वटै स्थानीय तहले आ आफनो पालिकाको बस्तीमा वनबाट दाउरा ल्याएर आगो ताप्ने व्यवस्थापन मिलाइएको बुझिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अत्याधिक चिसोमा घरबाट बाहिर निस्कनु पर्दा अनिवार्य रुपमा न्यानो कपडाको प्रयोग गर्नुपर्ने, बालबालिकाहरुलाई सकभर घरभित्रै राख्नु पर्ने, समय समयमा चिकित्सकको सलाह लिनुपर्ने जस्ता कार्यहरु अविलम्ब गराउनु पर्ने जस्ता जनहितमा सुचना स्थानीय संचारमाध्यमहरुबाट प्रकाशित एवं प्रशारित गराइएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै