चन्द्रपुरमा मिनि रंगशाला बनाउँछौँ, खेलाडीलाई रोजगारी सिर्जना गर्छौँः दाहाल

   २४ बैशाख २०७९, शनिबार १७:१९  

खेम बोल्खे
चन्द्रपुर, २४ वैशाख । रौतहट जिल्लाको चन्दपुरमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार बाबुराम दाहालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बर्ष खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने बताएका छन् ।

फुटवल कराँते, कुस्ती जस्ता खेलमा चन्द्रपुर र रौतहट जिल्ला देशभरमै परिचित रहेको प्रशंग उल्लेख गर्दै आफू मेयर पदमा निर्वाचित भएपछि मिनि रंगशाला निर्माण गर्ने प्रतिबद्धता पनि जनाए ।

विशेष गरी महिला फुटबलको क्षेत्रमा चन्द्रपुर खेलाडी उत्पादन हुने उर्बर भूमि रहेको प्रशंग उल्लेख गर्दै चन्द्रपुरलाई मधेस प्रदेशकै खेलकुद हबका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनको भनाई छ । खेलाडीहरुलाई खेल क्षेत्रमा आकर्षित गराउने रोजगारीको व्यवस्था गर्ने समेत आफ्नो कार्ययोजना रहेको बताए ।

बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको अमूल्य मत माग्दै घरदैलोमा जुटिरहेका मेयर पदका उम्मेदवार दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

घरदैलोका क्रममा आज शनिबार वडा नम्बर १ र वडा नम्बर १० मा मेयर दाहाल, उपमेयर रामरती चौधरीसहितको घरदैलो सञ्चालन गरिएको नेकपा एकीकृत समाजवादी चन्द्रपुरले जनाएको छ ।

बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै