कतै मतपेटिका लिएर भाग्दै, कतै मतपेटिका तोडफोड

   ३० बैशाख २०७९, शुक्रबार १८:४५  

रौतहट, ३० वैशाख । रौतहटमा सुरक्षा व्यवस्था अत्यन्तै फितलो भएको कारण अधिकाँश बुथहरुमा तनाव, झड्प, मतपेटिका तोडफोड, मतपेटिका लुटेर भाग्ने गरेको तथ्यहरु सार्वजनिक भएका छन् ।
यमुनामाई गाउँपालिका वडा नम्वर १ को मावी चिकना जेठरहिया क मतदान केन्द्रमा मतदान विहानै देखि सुरु भएपनि दिउसो ३.३० बजेको समयमा बादविवाद सृजना भई झड्प हुँदा मतपेटिकामा पानी खन्याएको, मतपेटिका तोडफोड गरिएपनि सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरु घटनालाई रोक्न सकेनन ।
यसैगरी सोही गाउँपालिकाको वडा नम्वर २ भेडियाहीमा पनि २ वटा मतपेटिका दिउसो साढे चार बजेको समयमा स्थानीयहरु लुटेर भागेका छन् । मतपेटिका लुटेर भागेपनि सुरक्षाकर्मीहरु जोगाउन सकेनन ।


यसैगरी बौधीमाईको कंकालीमाई मावी सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा बाकस तोडफोड गरी आगो लगाएको छ । यसैगरी गढीमाई नगरपालिकाको वडा नम्वर ३ र ६ मा मतदान गराउने अवस्था नरहेको बताइएको छ । यस्तै माधवनारायणको खेसरहिया अहिले पूर्णरुपमा तनावग्रस्त बनेका छन् ।
यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा रहेका हरिप्रसाद शर्माले वडा नम्वर १ मा मतपेटिकामा क्षति पुर्याएको र वडा नम्वर २ मा मतपेटिका लिएर भाग्दा गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताए । सुरक्षा व्यवस्था किन फितलो भएको प्रश्नको जवाफमा उनले त्यो काम हाम्रो होइन जिल्ला सुरक्षा निकायका पदाधिकारीहरु संग सोधपुछ गर्नुस भन्दै पन्छिए ।
जिल्लाको अधिकाँश स्थानहरुमा छिटफुट झड्प भएको कतिपय स्थानमा प्रहरीले वल प्रयोग गरेपनि अवस्था तनावपूर्ण नै रहयो, मतदान सुचारु भएन । समग्रमा सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मीहरुले मतपेटिकालाई जोगाउन नसक्नुमा आयोग पूर्ण रुपमा असफल भएको आरोप कतिपय सुरक्षाको जानकारहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै