रौतहट, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा जारी मत परिणाम अनुसार दुई वडामा नेपाली काँग्रेस र एकमा लोकतान्त्रिक पार्टीले खाता खोलेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर १ को वडाध्यक्षमा बलराम राउत र दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ मा प्रदुम्न चौधरी नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । यस्तै इशनाथ नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विगु व्यास निर्वाचित भएको छ ।
चन्द्रपुर नपा १ मा राउतले २०१० प्राप्त गरेको छ भने उनको प्रतिद्धन्दी नेकपा एसका विरु रखालले ११८९ मत मात्रै प्राप्त गरे । राउतले रखाललाई ८२१ मतले पराजित गर्दै चन्द्रपुर नपा १ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ को मतगणना सम्पन्न भएको छ । सो मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार प्रदुम्न चौधरी ६८६ मत ल्याएर विजयी भएको छ । चौधरीले निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार लालबाबु साहलाई ६० मतले पराजित गर्दै दोश्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । माओवादी उम्मेदवार साहले ६०६ मत मात्रै ल्याउन सफल भए ।
यस्तै रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विगु व्यास दोश्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएको छ । व्यासले ५८९ मत पाए भने उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जादोलाल साहले ३४३ मत मात्रै पाउन सके । व्यासले २४६ मतको अन्तरबाट नेका उम्मेदवारलाई हराउदै दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएको छ ।
रौतहटमा रहेको १८ स्थानीय तहमा मध्ये १ गाउँपालिका सहित ८ वटा पालिकाको मतगणना जारी छ । अन्य १० वटा पालिकाको मतगणना कहिले हुने हो ठेगान छैनन । हिजो मतदानको क्रममा मतपेटिका लुट्ने, तोडफोड गर्ने तथा मतदान कार्यलाई अवरुद्ध बनाउने जस्ता कार्यलाई लिएर १६ वटा मतदान केन्द्रलाई रद्द गरिएको छ । ति मतदान केन्द्रमा चाँडै निर्वाचन हुने बुझिएको छ ।