रौतहट, १ जेठ । राजनीतिक प्रतिशोध साध्न डाका शैलीमा रौतहटको गढिमाई नगरपालिकाको सिंगारवन टोलको १० घरमा लुटपाट गर्दै घर तोडफोड गरेका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर ६ सिंगारवन टोलका बालमिकी प्रसाद यादव, ठूलो प्रसाद यादव, त्रिलोकी प्रसाद यादव गरेर १० जनाको घरमा शनिवार राति ९ बजेको समयमा ३०÷३५ जनाको संख्यामा आएका महिला एवं पुरुषहरुले घरलाई तोडफोड गर्दै लुटपाट मचाएका हुन् ।
बालमिकीको घरको दराज फुटाएर १२ थान सुनको गहना, जग्गा विक्री गरेर राखिएको १० लाख नगद खाद्यान्न सामग्री, ठूलो यादवको घरबाट ६ लाख बराबरको सम्पती, त्रिलोकीको घरबाट २ लाखको सामान, सत्यनारायण यादवको घरबाट १ लाख नगद र ५ बोरा गहुँ, अनुरुद्ध साहको घरबाट २ खाशी, नगद ५ हजार र २ बोरा गहुँ गरेर १० जनाको घरमा लाखौंको सामानहरु लुटपाट गरेर लगेको पिडितहरुले बताए ।
दर्जनौंको संख्यामा आएका व्यक्तिहरुले चार वटा मोटरसाइकललाई तोडफोड गर्दै आगजनी समेत गरिदिएका छन् ।
गढीमाई नपा वडा नम्वर ३ र ६ मा मदतान रद्द भएका थिए । जेठ ३ गते हुने निर्वाचनको सन्दर्भमा नेकपा एसबाट वडा नम्वर ६ का उम्मेदवार रहेका रामविनोद यादवले मत माग्दै जाँदा निजलाई नेपाली काँग्रेसका उम्मेदवार रामसिंहासन यादवका समर्थकहरुद्धारा मरणासन्न हुनेगरी निर्घात कुटपिट गरिएको प्रतिकार स्वरुप रातिको समयमा नकपा एस समर्थकहरुले कुटपिट गर्नेहरुको घरमा उत्पात मचाउदै लुटपाट एवं घर तोडफोड गरिएको बताइएको छ ।
वडाध्यक्षका उम्मेदवार सहित ३७ जना नियन्त्रणमा
उम्मेदवारलाई कुटपिट गराउन लगाउने तथा कुटपिट भएपछि कानुनलाई हातमा लिई राजनीतिक प्रतिशोध साध्न लुटपाट मचाउने दुबै पक्षका गरेर ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरीको एसपी विनोद घिमिरेले जानकारी दिए । नेकपा एसका उम्मेदवार रामविनोदलाई मरणासन्न हुने गरी कुटपिट गराउने कार्यमा संलग्न रहेका नेपाली काँग्रेसका वडा नम्वर ६ का उम्मेदवार रामसिहासन सहित ३० जनालाई र सोको प्रतिकार स्वरुप लुटपाट गर्दै घर तोडफोड गर्ने कार्यमा संलग्न रहेका मध्ये ७ जना गरी ३७ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको जानकारी उनले दिए ।
सिंगारवन र धरमपुर गाउँमा अराजकता फैलिन नदिनका लागि राति देखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ठूलो संख्यामा परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिएको समेत एसपी घिमिरेलले बताए ।