यितेन्द्र शर्मा
बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसितको सम्बन्धलाई प्रगाढता प्रदान गरेका हुन् । नेपालको पाँचौ भ्रमणमा आएका मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई हिमाल जस्तै अटल र पुरानो बताएका छन्, मोदीले हामी आफनो स्वाभाविक सम्बन्धलाई उचाई प्रदान गर्न सफल हुने छौ भने विश्वास व्यक्त गर्दै साझा खानपान, पर्व त्यौहार, रीतिरिवाज र पारिवारिक सम्बन्धलाई हामी हजारौ वर्षदेखि बोक्दै आएको र अब यसमा विज्ञान, प्रविधि तथा पूर्वाधारलाई पनि समेटनु पर्ने धारणा राखेका हुन् । दुबै देश काँधमा काँधमा मिलाएर अघि बढिरहेको तथा बौद्ध सर्किटको विकासमा दुबै देशले सहयोग गरिरहेको भन्दै लुम्बिनी म्युजियमको निर्माणलाई दुबै देशको साझा सहयोगको उदाहरण बताए ।
लुम्बिनीको मायादेवी मन्रिमा पूजा अर्चना पश्चात उनले आफनो मन्तव्यमा “बुद्धलाई “बोध” र “शोध” को विषय पनि बताए । भारतीय प्रधानमन्त्री मोदीले बुद्धलाई मानवताको सामुहिक बोधको अवतरण बताउँदै “बुद्ध” संस्कार पनि भएको बताउनु भयो । हिन्दु धर्म संस्कृतिका ब्यापक ज्ञाता मोदीले भगवान बुद्ध यस कारण विशेष हुन कि उनले उपदेश मात्रै दिएनन्, मानवताको ज्ञानको अनुभूति पनि सबैलाई गराए । बुद्धले महान वैभवशाली राज्य र चरम सुख त्याग गर्ने साहस पनि देखाए । एउटा राजकुमारले सबै सुख सुविधालाई त्याग गरी ज्ञान प्राप्तिको खोजीमा निस्किनु समान्य कुरा हुनै सक्दैन । बुद्धले “प्राप्ति” भन्दा पनि बढी त्यागको महत्व रहेको कुराको अनुभूति सबैलाई गराउनु भयो ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धको प्रशंसा गर्दै आफु जनकपुर आएका बेला आफनो सम्बोधनमा नेपाल बिना भगवान राम पनि अधुरो रहेको स्मरण गराउँदै हाल भारतमा भगवान रामको भव्य मन्दिरको निर्माण भइरहेबाट नेपालीहरु पनि त्यति नै खुशी हुनु स्वभाविक भएको बताउनु भयो । नेपाललाई विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको देश बताउँदै यो अनेकौ तीर्थस्थलहरु, मन्दिर र मठ भएको देश हो बताउँदै उनले नेपाल अर्थात् विश्वकै प्राचीन सभ्यता र संस्कृतिलाई अक्षुण राख्दै आएको देश बताउँदै आफु नेपालमा राजनीतिक भ्र्रमण नआएको केवल आध्यामिक अनुभूतिको लागि आएको टिप्पणी गर्नुभयो ।
बुद्धपूर्णिमाको अवसरमा लुम्बिनी भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासित दुईपक्षीय हितका विभिन्न विषयमा छलफल गर्नुभयो । दुई देशका प्रधानमन्त्रीबीच हाम्रा परम्परागत बहुआयमिक सम्बन्धलाई बलियो बनाउने विषयमा पनि छलफल भयो ।
दुबै प्रधानमन्त्री बीचको वार्ता पश्चात भारत–नेपालबीच विभिन्न ६ बुँदामा सम्झादारी पनि भए । गत महिना नयाँ दिल्लीमा भएको दुई नेताबीचको बैठक पश्चात विभिन्न चार सम्झौतामा हस्ताक्षर भएको थियो र विभिन्न चार परियोजनाहरुको शुभारम्भ गरिने घोषणा गरिएको थियो । मोदीले लुम्बिनी भ्रमण निशुद्ध रुपमा धार्मिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने विषयमा नै केन्द्रित रहेको देखिएको तथापि भ्रमणमा भएका सम्झौताले दुरगामी महत्व राख्दछ ।
भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दुई देशद्धारा गरिएका खास कार्यक्रमहरुका अतिरिक्त पनि कनेक्टिभिटी, अर्थव्यवस्था, व्यापार र उर्जाका क्षेत्रमा अगामी दिनमा हुने सम्झौता उर्जा क्षेत्रका सम्भावित सम्झौता र परियोजनाहरुको बारेमा पनि कुराकानी भएको छ , अपै्रल महिनामा दुबै प्रधानमन्त्रीले बिजुली क्षेत्रमा व्यापारिक सम्झौतालाई मूर्तरुप प्रदान गर्नुभयो । दुबै प्रधानमन्त्रीको उपस्थितिमा सम्भदारी पत्रमा भएका हस्ताक्षरले पनि हाम्रो सम्बन्ध र सहकार्यलाई बलियो बनाउने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ८ वर्ष अघि नेपालको पहिलो भ्रमणमा आउँदा उनले नेपाली संसदमा सम्बोधन गर्दै भनेका थिए भारतले नेपालको राजमार्गहरु (हाइवेज), सुचना र प्रविधि क्षेत्रको विकास तथा डिजिटल युगमा सहकार्य (आईवेज), तथा विद्युतको विकास र व्यापार (ट्रान्सवेज) मा सहयोग गर्न चाहेको तथा यस क्षेत्रमा नेपाल हाम्रो प्रगति गर्न सकोस भने भारतको चाहना रहेको टिप्पणी गर्नुभएको थियो । यस अवधिमा साँच्चिकै विकास भएको छ र नेपाल अब केवल लोडसेडिङ्गमुक्त मात्रै भएको छैन अपितु विजुलीको आयात र भारतमा बिक्री समेत गर्न सकिरहेको छ । मोदीको लुम्बिनी भ्रमणमा दुई देशका प्रधानमन्त्री बीच साँस्कृतिक सम्बन्धलाई बलियो बनाउने शिक्षा क्षेत्रमा सहयोग गर्ने र उर्जा विकासको क्षेत्रमा सहयोग गर्न विषयमा पनि सहमति भएको छ । मोदीको लुम्बिनी भ्रमण सफल साबित भएको छ ।