भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणबाट पर्यटन क्षेत्रमा उत्साह, बुद्ध सर्किट वारे छलफल

   ६ जेष्ठ २०७९, शुक्रबार ०७:१४  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार हुने लुम्बिनी भ्रमणका लागि परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष र भारतीय दूतावासले तयारी करिब सम्‍पन्‍न गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी २५६६ औं बुद्ध जयन्तीका अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन्।

मोदी करिब ५ घण्टाका लागि लुम्बिनी आउने र त्यस अवसरमा उनले मायादेवीको मन्दिरमा पूजाआजा र भारतले बनाउने विहारको शिलान्यास गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा र मोदी दुवै मिलेर ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ मा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्नेछन्। समारोहमा मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको सम्मान दिने तयारी छ।

उक्त कार्यक्रमका लागि पर्यटन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले गृहकार्य गरिरहेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणमा परराष्ट्रमन्त्री नारायण खड्काले सुरुमा मोदीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि देउवा र मोदीबीच द्विपक्षीय वार्ता हुने सम्भावना छ। वार्तामा बुद्धिस्ट सर्किटलाई अगाडि बढाउने विषयमा दुई प्रधानमन्त्री छलफल हुने भएको छ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले नेपाललाई निकै फरक पार्ने बताउँछन्। उनले भने, ‘यो हाम्रा लागि कोसेढुंगा हो। यहाँ पर्यटक बढ्छन्। पर्यटन व्यवसाय राम्रो हुन्छ। अर्कातर्फ विश्वमा बुद्धको जन्मस्थलका बारेमा प्रवाह भएको गलत सूचनालाई भारतीय प्रधानमन्त्रीको भ्रमणले चिर्नेछ। ’
भारत र नेपालले यसअघिदेखि नै ‘बुद्धिस्ट सर्किट’ बारे छलफल गरे पनि त्यसलाई टुंगोमा पुर्‍याइएको छैन।

यस पटक मोदीले यस विषयमा केही बोल्न सक्ने र यो अवधारणा अघि बढ्न सक्ने पर्यटन मन्त्रालयका एक अधिकारीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानलगायतका मुस्लिम मुलुकहरुले हिन्दुवादीको आरोप लगाउँदै अन्य धर्मप्रति घृणा गरेको भन्दै आलोचना गर्ने गरेका छन्।

तर, व्यवहारमा भने प्रधानमन्त्री मोदीले सबै धर्मप्रति समान व्यवहार देखाउने गरेका छन्। यसअघि जम्मु-काश्‍मीरमा मुस्लिमहरुको उत्थानका लागि धेरै ठूलो काम गरेका थिए। मुस्लिमको नाममा अन्य अल्पसंख्यकमाथि दमन गर्ने पाकिस्तानले मोदी र भारतको बदनाम गराउनक लागि यस्तो आलोचना गर्ने गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै